हामीसँग जोडिनुहोस

स्वदेशदेखि विदेशमासमेत प्रख्यात थिमिको चाकु, व्यवसायीलाई माग धान्न भ्याईनभ्याई

3 मिनेट

भक्तपुर, २९ पुस : माघे संक्रान्ती नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याई नभ्याई भएको छ ।

मध्यपुरथिमिमा पहिलो पटक ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नु भएको चाकु बनाउने पेशा नाती पुस्तासम्म पनि उत्तिकै प्रख्यात छ । माघे संक्रान्ति नजिकिएसँगै त उहाँका छोरा उत्तमराज श्रेष्ठको परिवारलाई एकमहिना अघिदेखि चाकु बनाउन भ्याईनभ्याई भएको हो ।

थिमिमा चाकु उत्पादन गर्ने वर्षौ पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे संक्रान्तिका लागि मात्रै नभई वर्षदिन भरी नै चाकु बनाउने भएपछि यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउनु हुन्छ व्यवसायी श्रेष्ठ ।

अहिले माघे संक्रान्ति नजिकिदै गर्दा अलि भिड बढेको र जाडो बढेका कारण चाकुको मागलाई धान्न धौ धौ परेको उहाँको भनाइ छ । विगत एक महिनादेखि उहाँको परिवारसहित दैनिक २५ जनालाई चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन भ्याईनभ्याई छ ।

उहाँ भन्नुहुन्छ, “माघे संक्रान्ति नजिकिए पछि चाकु लिन आउनेको अलि बढी भीड लाग्छ, तर यहाँ उत्पादन भएको चाकु र पुष्टकारीलाई औषधिको रुपमा प्रयोग गर्न पनि टाढाटाढाबाट लिन आउँछन्, चाकु खायो भने खोकी लाग्छ भन्छन्, तर हाम्रो यहाँको चाकुले खोकी निको पार्छ, सुत्केरी चाकु पनि हाम्रो प्रख्यात छ, गर्भवति महिला, सुत्केरी महिलाका लागि पनि टाढा टाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने पनि चाकु लिन यहीँ आउँछन् ।”

सुत्केरीले यहाँको चाकु खादा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीको शरीरलाई बाधन मद्धत पुग्ने भएकाले जाडोमा मात्र नभई गर्मी मौषममा पनि चाकु लिन आउने गरेको उहाँ बताउनु हुन्छ ।

चाकु बनाउन व्यबस्त सुदिप श्रेष्ठ जाडोमा मात्रै नभई यहाँ वैशाख जेठको गर्मीमा पनि दैनिक ७ देखि १० किलो, असोज कात्तिकमा दैनिक १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउनु हुन्छ । पुसमा जाडो बढेपछि भने दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र अहिले माघे संक्रान्तिका लागि भने उपत्यका र बाहिरबाटसमेत माग अत्याधिक आउने भएकाले दैनिक २०० किलोसम्म बिक्री हुने गरेको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “चाकु लिनेको १० दिन अगाडिदेखिनै भीड छ, माघे संक्रान्तिको दिन त ४०० देखि ५०० किलोसम्म चाँकु बिक्री हुन्छ । संक्रान्ति पछि पनि यहाँ चाँकु बिक्री हुन्छ, अहिले हामी २५ जना चाकु बनाउन, प्याकिङ् गर्न र बिक्रीका लागि खटिएका छौँ ।”

भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी, र बिभिन्न मसलाहरुको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाउनु हुन्छ चाँकु प्याकिङमा व्यबस्त सुरेन्द्र श्रेष्ठ ।

एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि यहाँ चाकु लिन आउने गरेको किस्सा उहाँ सुनाउनु हुन्छ । यहाँको चाकु काठमाडौं उपत्यका मात्रै नभई उपत्यका बाहिर बस्ने नेपालीहरुले पनि लैजाने गरेका छन् । यहाँको चाकु खादा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी गर्नुहुन्छ उत्तमराज ।

यहाँको चाँकु भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका बिभिन्न देशमासमेत पुग्ने गर्दछ । विदेश जाने बेलामा चाकु कोसेली पठाउने र विदेशमा बस्ने नेपालीहरुले पनि यहाँको चाकु नै माग गर्ने भएकाले विदेशमा पनि कोसेली स्वरुप लैजाने गरेको उहाँ बताउनु हुन्छ ।

केहीवर्ष अगाडिसम्म प्रतिकिलो रु ५०० मा बिक्री गरेको चाँकु हरेक वर्ष कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको ७०० रुपैयामा बिक्री गरेको उहाँ बताउनु हुन्छ । बाजेले सुरु गरेको चाकु व्यवसायबाट राम्रो जिविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आउनु भएका सुदिपले पनि यो पेशालाई निरन्तरता दिदै आएको बताउनु हुन्छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।