-प्रतिभा धौबजी
भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसंगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधि अनुसार मनाईने प्रसिद्ध विस्काः अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरबको रथ तानिएको छ । प्योगोडा शैलीमा काठैकाठले निर्माण भएको तीन तले भैरबको रथ स्थानीयले आज अपरान्ह ४ बजेदखि तौमढी (पाँचतले मन्दिर प्राङ्गन) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।
आज राती ८ बजेसम्ममा तौमढीबाट माथिल्लो तर्फ सुकुलढोका, गोल्मढी हुदै इनाचो पुर्याइएको छ । हजारौका सहभागिता रहेको जात्रामा भैरबको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढी भन्दा तलका बासिन्दाले पनि रथलाई तौमढी तर्फ ल्याउन तानिरहेका छन् ।
रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामो भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चार वटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतिकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।
आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।
आज बिहान ५ बजेदेखि सर्वसाधारणको लागि भैरबको रथमा पुजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरबको रथ तान्न सुरु गरिएको उहाँले बताउनु भयो ।
तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतिक स्वरुप ल्याईएको खड्ग, तरबार र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पुर्याएको छ ।
आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजे लिङ्गो उठाईने जात्रा हुनेछ । बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते पनि अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरि तयारी गरिएको उहाँले बताउनु भयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुलदंगा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताउनु भयो । जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोवाइलबाट फोटो र भिडियो खिचेर अनुगमन रिरहेको र नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको बताउनु भयो ।
जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरि कडा कारबाही गरिने उहाँले बताउनु भयो । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौंबाट समेत थप प्रहरीको मद्धत आउने बताउनु भयो । उहाँले ६४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोशाककमा सुरक्षाकर्मी जात्राका लागि खटाएको बताउनु भयो ।