हामीसँग जोडिनुहोस

बोडेमा हजारौको अगाडि सुजनले जिब्रो छेडेर बोडे सहर घुम्दै मनाए जात्रा

4 मिनेट

महाद्विप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याईयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्धिपलाई मन्दिरस बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौको भीड बिस्तारै तितरवितर लाग्यो ।

============================================

-रमेश गिरी

भक्तपुर, २ बैशाख : मध्यान्हदेखिनै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भए ।

दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे २७ वर्षीय सुजन वागश्रेष्ठ ।

बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए ।

जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडिदिनु भयो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिडेर हौसला प्रदान गरिरहे ।

महाद्विप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याईयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्धिपलाई मन्दिरस बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौको भीड बिस्तारै तितरवितर लाग्यो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाई बताउनु हुन्छ ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा तयार भए र यसवर्ष पनि जात्राले निरन्तरता पायो । बुद्धकृष्ण भन्नुहुन्छ, “यो वर्ष सुजनले जिब्रो छेडायो, अर्को वर्ष पनि जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न यहाँका युवा पुस्ताहरु तयार हुनु पर्छ, यहाँको जात्रा यहीँको युवाले अब जोगाउने हो ।”

मध्यपुरथिमिका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जात्रालाई सहज बनाउन आफ्नो पालामा जग्गा खरिद गरेर नयाँ पाटी बनाएर ठाउँ फराकिलो बनाएको बताउनु भयो ।

जात्रालाई व्यबस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले मध्यपुरथिमिका जात्रा पर्वका लागि यसअघि गरिएको व्यबस्थालाई निरन्तरता दिएको बताउनु भयो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसवर्ष जात्रा हेर्नका लागि नेपाली काँग्रेसका सांसद दुर्लभ थापालगायतका बिभिन्न नेताहरु तथा माओवादी केन्द्रका नेताहरु आएको बताउनु भयो ।

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने बताउनु हुन्छ । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी रहेको उहाँले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।