काठमाडौं,
नेपाली बालबालिकाले क्यान्सरको औषधी निःशुल्क पाउने भएका छन्। बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराइनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधी निःशुल्क रूपमा प्राप्त गर्नेछ ।
ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर ९जीआईसीसी०ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधी प्राप्त गर्नेछ। स्वास्थ्य सचिव गुरागाईँले सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्ने बताइन्। ती औषधी विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार प्रयोग हुनेछन्।
‘ नेपाललगायत कम विकसित छवटा राष्ट्रलाई यो वर्ष क्यान्सरविरुद्धको औषधी निःशुल्क उपलब्ध गराइनेछ।
ती देशमा जाम्बिया, इक्वेडर, उज्बेकिस्तान, जोर्डन र मङ्गोलिया पनि रहेका छन्। अर्को वर्ष थप छवटा देश गरेर १२ वटा राष्ट्रले बालबालिकाका लागि क्यान्सरविरुद्धको निःशुल्क औषधी प्राप्त गर्नेछन्। नेपालमा पाटन अस्पतालबाट भने अन्य क्यान्सरका लागि लाखौँ मूल्य पर्ने औषधी निःशुल्क वितरण भइरहेको छ। बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निःशुल्क औषधी प्राप्त गर्न लागेको हो।
यससम्बन्धी कार्यलाई अघि बढाउन गत चैत २९ र ३० गते अमेरिकाको टेनिसी राज्यस्थित मेम्फिस सहरमा ग्लोबल प्लेटफर्म टु एक्सेस चाइल्डहुड क्यान्सर मेडिसिन ९जीपीएसीसीएम० पूर्वप्रक्षेपण सम्मेलन आयोजना गरिएको थियो। सो कार्यक्रममा भाग लिन नेपालबाट स्वास्थ्य सचिव गुरागाईँको नेतृत्वमा कान्ति अस्पताललगायतका निर्देशक, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसहितको प्रतिनिधिमण्डल अमेरिका गएको थियो।
नेपालमा कान्ति बाल अस्पतालमा मात्र वार्षिक तीन सय जना बालबालिकाको क्यान्सर रोगको उपचार हुने गरेको छ। नेपालभरमा वार्षिक एक हजार ५०० सय बालबालिका विभिन्न क्यान्सर रोगबाट पीडित हुने अनुमान गरिएको छ।