काठमाडौं,१५ वैशाख ।
विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै छ।हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाउन लागिएको हो।
दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिक गरेको छ।
नेपालमा सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’को स्थापना गरेको थियो। यो आयोजनालाई मन्त्रिपरिषद्को २०७५ सालको निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी २०७५ साउन १ गतेदेखि स्थायी संगठन संरचना स्वीकृत भएको थियो।
कार्यस्थल वरपरका समुदाय तथा वातावरणमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै कार्यस्थलभित्र वा कार्यस्थलबाट कामदारको स्वास्थ्य तथा कल्याणमा उत्पन्न हुने सक्ने जोखिमको पूर्वाअनुमान, पहिचान, मूल्याङ्कन तथा जोखिम नियन्त्रण गर्ने विज्ञानलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य हो।
श्रम ऐन, २०७४ मा रोजगारदाताले कार्यस्थलमा श्रमिकको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने, सुरक्षा तथा स्वास्थ्य समिति बनाउनुपर्ने व्यवस्था छ। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ मा रोजगारदाताले कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ। श्रमिकलाई तालिमसँगै सुरक्षा साधन उपलब्ध गराउनु रोजगारदाताको कर्तव्य हो। उक्त नीतिले श्रमिकलाई सङ्क्रामक रोग नियन्त्रण र व्यवसायजन्य रोगको उपचारसम्बन्धी व्यवस्था गरेको छ।
आईएलओको तथ्यांक अनुसार हरेक वर्ष ३७ करोड ४० लाख श्रमिक कामसम्बन्धी दुर्घटनामा पर्छन्। विश्वमा हरेक वर्ष १६ करोड श्रमिक व्यवसायजन्य रोगबाट प्रभावित छन्। यस्तै २७ लाख ८० हजार श्रमिकको कामसम्बन्धी दुर्घटना र व्यवसायजन्य रोगका कारण मृत्यु हुने गरेको छ।
विश्वमा प्रत्येक दिन सात हजार ६०० भन्दा बढी श्रमिकको कामसम्बन्धी दुर्घटनाका कारण मृत्यु हुने गरेको छ।