हामीसँग जोडिनुहोस

मध्यराती आगोको भुङ्ग्रोमाथि नाच (फोटो फिचर)

7 मिनेट

-रमेश गिरी

भक्तपुर, ३ बैशाख :मध्यराती आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । बाजाको आवाज सुन्दा जो कोहीलाई लाग्थ्यो, मध्यराती कसको घरमा बिवाहको बाजा बजिरहेको छ भन्ने लाग्थ्यो । तर मध्यरातीसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखिनै भेला भएका थिए ।

साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो ।

चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतकोे घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो । केही व्यक्तिहरु लगाएका मानिसहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राती नौ बजेदेखि तीन वटा रुखबाट काटिएको दाउँरा दनदनी बल्दै थियो ।

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोमा परिणत भयो । मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रो माथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउदैनन् भनेर हेर्दै थिए ।

मध्यराती भुङ्ग्रा नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक बिधि अनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बली दिइयो । त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ति खाएसँगै शरीर कमाउदै स्नान गरेर फर्किएसँगै थुपारिएको आगोको भुङ्ग्रा अगाडि शरीर काम्दै उफ्रदै आगोको भुङ्ग्रा माथि तीन पटक घुमेपछि गुरुको आदेश पाउँने बित्तिकै आगोमाथि दौडिन थाले ।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रा तर्फ लम्किए । अगाडि बाजा घन्किरहेको थियो । वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए । त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएकाहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुड्ग्रो अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूलगुरु रुद्रबहादुर खड्का एकैछिनमा आगोको भर्भराउँदो भुङ्ग्रामा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै एक पछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले । उनीहरू आगोको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगाका तीन भङग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रामाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे आगाको भङ्ग्रोमा नाचिरहे ।

आगोमा त्यसरी नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा कूलको मूल देवता अर्थात खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कूलका मामाभान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिँन थाले ।

नजिकै डिलमा उभिएकी एक किशारी भन्दै थिइन्, “ओहो, आगोको भुङ्ग्रामा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त ? जिउ पनि दुख्यो होला है ।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै संकेत नदेखिँदा हेर्नेहरु चकित परे ।

आफ्नो कूलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि सयौ वर्षखगाडिदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथो पटक पूर्णता दिएका थिए । मूल गुरु खड्काले भन्नुभयो, “खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुदैन, यो श्रृष्टिको उत्पत्ति कालदेखिनै चल्दै आएको परम्पपरा मानिन्छ । गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो । मैलेनै यहीँ कूलमा यो समेत तीन पटक वायु उतार्ने र खली खुवाउने कार्य गरिएको छ ।”

उहाँका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरी पिशाचको रुपमा रहदाँ त्यो कूलवंश भित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरु हुने, पशु चौपायाहरु विरामी नै नभई अचानक मर्ने लगायतका घट्ना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रुपमा स्थान पाउने भडकिएको आत्माले मुक्ति पाउने विश्वास रहेको छ ।

अकालमा मृत्यु भएकाहरु सबै वायुदेवका रुपमा कुल् देवतासँगै राखेर पूजा गर्ने भएपछि कूलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरु खड्का बताउनु हुन्छ । तान्त्रिक बिधि र कूल देवताको शक्तिले आगोको भुङ्ग्रोमा उफ्रिदा पनि डाङ्ग्रको खुट्टाको रौ समेत नजल्ने उहाँ बताउनु हुन्छ ।

यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन साताको तान्त्रिक बिधि अनुसार सबै प्रक्रिया पुरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो । तीन सातादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नविन बस्नेतले बताउनु हुन्छ ।

शरीरमा कूलको मूल देवता अर्थात खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोमा उप्रिाएका थिए । पुरोना धामी दिनेश बस्नेतको आङ् अर्थात शरीरमा धारण गरेको खप्परमास्टर राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ् अर्थात शरीरमा हस्तान्तरण समेत गरिएको नबिन बस्नेतले बताउनु भयो ।

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन् । ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन् । वायु उतार्ने क्रममा धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसका शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुन्छन् । तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जिउमा कुलदेवता चढ्ने गरेको बस्नेत बताउनु हुन्छ । कुलदेवता शरीरमा आएपछि पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइन्छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।