हामीसँग जोडिनुहोस

वः फेस्टिभलमा साँझसम्म हजारौका भीड

3 मिनेट

भक्तपुर, ६ जेठ : शनिवारको साँझ मध्यपुरथिमिको निगुः पुखु अर्थात दुई पोखरीको डिलमा उभिएर वागमति प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल नेवारी परिकारहरुको स्वाद लिदै भन्नुभयो, ‘ओहो ! क्या स्वादिलो नेवारी परिकार ।’

आज शनिवार साँझसम्म पनि नेवारी परिकारको स्वाद चाख्न मध्यपुरथिमिबाट मात्र नभई, भक्तपुर तथा उपत्यकाका बिभिन्न नगरपालिकाका बासिन्दाको घुईचो र स्टलहरुमा देखिएको भीडले उत्साहित हुदै उहाँले भन्नुभयो, “स्थानीय परिकार, स्थानयि परिवेश, सम्पदा क्षेत्र पर्यटनको बिकास गर्ने नगरपालिकाको काइदाको यो फेस्टिबलले धेरैलाई बिभिन्न नेवारी परिकारको स्वाद चाख्ने मौका दियो, साच्चिनै यो फेस्टिबलले मज्जा दियो ।”

मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा मध्यपुर पर्यटन विकास समितिसँगको सहकार्यमा नेवार समुदायमा खाने परिकार वः बारे जानकारी दिने तथा आन्तरिक र बाह्य पर्यटनको बिकास गर्ने उदेश्यले दुई पोखरीमा आयोजित वः फेस्टिभलमा संघीय सांसद दूर्लभ थापादेखि प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार ढकाल, नगरपालिकाका पूर्व नगर प्रमुखहरु, राजनीतिक दलका नेताहरु, कलाकर्मीहरु, नेवारी परिकारका पारखीहरुको सहभागिता रहेको थियो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगर क्षेत्र सम्पदा र सम्भावनाको पुरोना सहर भएपनि बाह्य र आन्तरिक पर्यटनको दृष्टिकोणले ओझेलमा परेको भन्दै पर्यटन प्रबर्दन गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो । वः खाने परम्परालाई जिवन्त राख्ने मात्रै नभई यसको स्वाद सबैमा पुर्याउने र नेवारी परिकारको समेत प्रवद्र्धन गर्ने उदेश्य फेस्टिबलको रहेको उहाँको भनाइ थियो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आजको फेस्टिवलमा सोचेभन्दा बढी आन्तरिक पर्यटकको आगमन भएको बताउदै मध्यपुरपथमि, भक्तपुरलगायत उपत्यकाका बिभिन्न क्षेत्रबाट एकैदिन २० हजार भन्दा बढीको आगमन भएको बताउनु भयो । उहाँले हिजोसम्म चार लाखको कुपन बिक्री भएको र आज आएकाहरुबाट बिभिन्न स्टलमा नेवारी परिकारहरुको स्वाद लिनेक्रममा करिब ४० लाखको कारोबार भएको बताउनु भयो ।

उपप्रमुख श्रेष्ठले स्टलमा मध्यपुरथिमिका मौलिक उत्पादनहरु चिउँरा, तोरीको तेल, सेरामिक्सलगायतका १० वटा स्टल र विभिन्न नेवारी परिकारहरुको १३ वटा गरि २३ वटा स्टल राखिएको बताउनु भयो ।

महोत्वसमा मध्यपुरथिमिको साथै किर्तिपुर र चोभारबाट आएका व्यवसायीहरुले समेत स्टल राखेको बताउदै मध्यपुर पर्यटन विकास समितिका सदस्य राजेश श्रेष्ठले वः फेस्टिबलमा सादा, अण्डा, मिक्स, बफलगायतका बारा, समयबजी, जुजु धौ, छोइला, कचिला, ड्याकुला, मसरुमको बारा, आलूदम, अइला, छ्याङ्लगायतका खानेकुरा तथा पेय पदार्थहरु बिक्रीका लागि राखिएको जानकारी दिनुभयो । खानेकुराका प्रत्येक स्टलमा दिनभरीनै उत्तिकै भीड लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रचार प्रसार संयोजक पत्रकार रत्नकृष्ण श्रेष्ठले बिहान ११ बजेदेखि सुरु भएको वः फेस्टिबलमा राती सातबजेसम्म उपभोक्ताकोे भीड रहेको बताउनु भयो । उहाँले यो फेस्टिबलले थिमिको पहिचालाई अझै बढाएको बताउदै साँझ सुरु भएको सांगीतिक कार्यक्रममा थप रौनकता प्रदान गरेको बताउनुभयो ।

भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः पनि एक हो । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरू तलेजु भवानीलाई चढाइने गरिएको छ । नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म तथा बिभिन्न चाडपर्वमा वः लाई मुख्य परिकारको रुपमा प्रयोग गर्ने गरिन्छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।