हामीसँग जोडिनुहोस

भक्तपुर अस्पताल ९७ अंक प्राप्त गर्दै बन्यो सर्वोत्कृष्ट, २०० शय्यामा बिस्तार गर्ने घोषणा

5 मिनेट
-रमेश गिरी
भक्तपुर, ७ जेठ :  विक्रम सम्बत १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको बीर अस्पताल पछिको दोश्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको सरकारी मूल्यांकन टोलीले गरेको मूल्यांकनअनुसार प्राप्त अंकको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अंक प्राप्त गरी वागमती प्रदेश भित्रका अस्पताल मध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल वागमती प्रदेशकै उत्कृष्ट अस्पताल बनेको घोषणा गरिएको हो । साथै यो अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।
अस्पतालको स्थलगत अवलोकन र तीन दिन लगाएर गरिएको मूल्यांकनमा भक्तपुर अस्पतालले ९७ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताउनु भयो । अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. पवन साह, कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागकी मिरा निरौला लगायतको मूल्यांकन टोलीको मूल्यांकनमा यस अस्पतालले ९७ अंक प्र्राप्त गरेको हो ।
भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा मूल्यांकन समितिले तयार पारेको नतिजा सार्वजनिक गर्दै भक्तपुर अस्पताल वागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यहाँको सेवाले देशकै शीर उचो बनाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “वागमती प्रदेशका सबै अस्पताल राम्रा हुदैछन्, भक्तपुर अस्पताल प्रदेश ‘सेकेण्डी  ए’ लेबल पार गरेर सर्वोउत्कृष्ट भएको छ, हामीहरु निर्देशनालयमा भइरहदा भक्तपुर अस्पताल यसरी उत्कृष्ट हुनु हाम्रा लागि पनि गौरबको विषय हो, भक्तपुर अस्पताललाई अब २०० बेडको अनुमति र बजेट दिनका लागि काम सुरु गर्नेछौँ ।”
प्रदेश भित्र उत्कृष्ट दुई अस्पताललाई बजेटसहित २०० शय्याको अनुमति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार भक्तपुर अस्पताल र हेटौडा अस्पताललाई यो अनुमति दिने कार्य प्रारम्भ गर्ने उहाँको भनाइ थियो ।
निर्देशनायका महाशाखा प्रमुख सतिश विष्टले भक्तपुर अस्पतालको गुणस्तरलाई अरु अस्पतालले अनुशरण गर्नु पर्नेमा जोड दिदै वागमती प्रदेशका १३ वटै अस्पतालका मेडिकल सुपरिटेडेन्ट, अध्यक्ष र नर्सिड प्रशासकलाई ल्याएर यहाँको सेवाकाबारेमा जानकारी दिनु पर्ने औल्याउनु भयो ।
मूल्यांकन समितिका सदस्य एवं कान्ति बाल अस्पतालकी प्रमुख नर्सिङ्ग प्रशासक रोशनी तुइतुइले भक्तपुर अस्पतालले विगतका भन्दा सेवामा धेरै सुधार गरेको बताउदै यो अस्पताल भक्तपरकाबासीका लागि मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार रहेको बताउनु भयो ।
तुइतुइले भन्नुभयो, “भक्तपुर अस्पताललाई मैले नजिकबाट नियालिरहेको छु, यहाँ विगत र अहिलेको सेवामा निकै फरक देखेको छु, यो उत्कृष्ट पहिचानले अब भक्तपुर अस्पताललाई २०० शैयामा लैजान कुनै नीति नियमले रोक्दैन, यो अस्पतालले ‘सेकेण्डरी ए’ लेभल पूरा गरिसकेकाले यसलाई तत्कालै प्रदेश सरकारले २०० शय्याको स्वीकृति र बजेटको व्यबस्था गर्न ढिलाई गर्नु हुदैन ।”
सरकारले प्रदेश स्तरको मुटु, क्यान्सरलगायतका सबै सेवा उपलब्ध गराउने गरि सेवा बिस्तार समेत गर्ने तयारी गरेकोमा त्यसको लागि यो अस्पताल उपयुक्त रहेको कार्यक्रममा बताइएको छ । अस्पतालको दुई वटा भवन मानव अंग र क्यान्सर अस्पताल सचालनमा रहदा पनि समिति भौतिक संरचनाका बाबजुत यस अस्पतालले मापदण्ड पुरा गरेको बताइएको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पताल दोश्रो पटक प्रदेशकै उत्कृष्ट अस्पताल बन्नुमा अस्पतालको सिंगो टिमको सहि मूल्यांकन भएको बताउनु भयो । उहाँले भक्तपुर अस्पतालले प्रदान गर्दै आएको सबै सेवाकाबारेमा जानकारी गराउदै सबै कर्मचारीको लगनशिलता र मिहिनेतको प्रतिफलले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउनु भयो ।  उहाँले अस्पताललाई पेपर लेस बनाउने, सात जना विरामीले एकै पटक टिकट लिन सकिने गरि अनलाइन टिकट प्रणालीको सुरुवात गर्नेदेखि क्यू कार कोड एवं बैंकिङ्ग प्रणालीबाट भुक्तानीको व्यबस्था गरि सेवाग्राहीलाई सहज बनाउन लागेको बताउनुभयो ।
अस्पतालमा न्यूरो सेवा सुरु भएको, नाक, कान, घाँटी लगायतको सेवा सुरु गरिएको, अल्जाइमर सेवा सुरु गरिएको, निःशुल्क होड बढी परीक्षण सेवा सुरु गरिएको बताउदै उहाँले भक्तपुरका अन्य अस्पतालमा समेत नभएका सेवाहरुलाई यस अस्पतालले पेइड क्लिनिकका रुपमामा समेत सञ्चालन गरेर भक्तपुरका बासिन्दालाई विशेषज्ञ सेवा लिन काठमाडौंलगायत निजी अस्पतालमा जान नपर्ने गरि सेवा बिस्तारको तयारी गरेको बताउनु भयो ।
अस्पतालको टिम राम्रो रहेको, मेडिसिनमा डा. सुनिल ढुङ्गेल, डा.देवेन्द्र भट्टराई, अर्थोमा डा. मधु पाण्डे, सर्जरीमा डा. रंजित पहाडीलगायत बिभिन्न शाखाका कचिकित्सक, नर्स, कर्मचारी एवं समितिका पदाधिकारीलगायत अस्पतालको राम्रो टिमको लगनशीलताले यस अस्पतालले उपलब्धीता हासिल गरेको बताउनु भयो ।
अस्पताल सञ्चालन तथा बिकास समितिका अध्यक्ष रमण कायस्थले उत्कृष्टताको पहिचान थपेसँगै अस्पताललाई अब सेवा खस्किन दिन नहुने जिम्मेवारी थपिएको बताउनु भयो । त्यो जिम्मेवारीलाई सबै मिलेर पुरा गर्ने र देशकै उत्कृष्ट अस्पताल बनाउन लागि पर्ने बताउनु भयो ।
तत्कालिन समयमा २७ देखि ३८ अंकमा चित्त बुझाउदै आएको यस अस्पतालमा मेसु डा. गौतम आएपछि अस्पतालको सेवा बिस्तार र कोरोना महामारीमा उत्कृष्ट काम गरेर २०७७ साल पुसमा भएको मूल्यांकनमा ८२ अंक प्राप्त गरि प्रदेशमै उत्कृष्ट बन्न सफल भएको थियो ।
डा.गौतम मेसु भएर आएपछि अस्पताल स्थापनाको ११६ वर्षपछि कोरोना महामारीसँगै जुध्दै भक्तपुर अस्पतालले आइसीयु, एनआईसियू र भेण्टिलेटर सेवा सुरु गरेको थियो । अहिले अस्पतालले अधिकांश सेवा सुरु गर्नुका साथै २४ सै घण्टा शल्यक्रियासहितको सेवा बिस्तार गरेको छ । पाँच वर्ष अगाडिसम्म रिफर सेन्टरको रुपमा रहेको भन्दै बिरामी नआउने यस अस्प्तालले अहिले गुणस्तरीय सेवा बिस्तार गरेसँगै ओपिडीमा दैनिक ८०० सम्मको भीड र भर्ना गर्न समेत शय्या अभावको अबस्था आउन थालेको छ ।
यसअघि कोभिड महामारीमा यस अस्पतालले पुर्याएको सेवावापत मेसु डा गौतमसहितका कर्मचारीलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गर्नु भएको थियो भने अस्पताल पुरस्कृत भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।