भक्तपुर, २६ जेठ : परराष्ट्र मन्त्री एनपी साउदले हचुवाको भरमा छिमेकी राष्ट्रको विषयमा बोल्दा दुई देशबीचको शक्ति सन्तुलन बिग्रने बताउनु भएको छ ।
शहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको ११ औँ वार्षिक स्मृतिसभा तथा छात्रबृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले दुई देशबीचको सम्बन्ध बिगार्ने गरि बोल्न नहुने बताउनु भएको हो । सरकारले कुनै पनि विदेशी नीतिकाबारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्ने बताउदै उहाँले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जादा हचुवाको भरमा नबोलेको बताउनु भयो ।
“

भारतको संसदमा हामी गएका छैनौ, नेपालको भूमि समावेश गरिएको नक्सा राखेको देखेका पनि छैनौ, त्यस्तो भउको हो भने पनि नेपाली दूतावासले त्यसबारेमा आधिकारिक रुपमा जानकारी दिनु पर्यो, यसबारेमा कि त भारतले नै भन्नु पर्यो, तबमात्र त्यसबारेमा भ्रमणमा एजेण्डा बन्छ” मन्त्री साउलदे भन्नुभयो, “हचुवाको भरमा बोल्दा दुई देशबीचको शक्ति सन्तुलन बिग्रन्छ, सम्बन्ध बिगार्न हुदैन ।”
नक्साकोबारेमा भारतले आधिकारिक रुपमा त्यो विषय राजनीतिक होइन भनिसकेको अबस्थामा दुई देशबीचको सम्बन्धमा क्षति पुग्ने गरि कसैले पनि बोल्नु हुदैन भन्दै उहाँले नबुझी बोल्ने परम्पराले जिम्मेवार परराष्ट्रनीति अगाडि बढ्न नसक्ने बताउनुभयो ।

छिमेकी दुई राष्ट्रसँग र शक्ति राष्ट्रहरुसँग सन्तुलित परराष्ट्र नीतिका आधारमा विकासको साझेदारी गर्दै नेपालले टाउँको उठाउदै आएको उहाँले स्मरण गर्नुभयो । सांसद बिकास कोषको पाँच करोडको सन्दर्भमा सांसदलाई चुनाब खर्च उठाउन दिएको भन्ने भ्रममा कोही पनि पर्न नहुने उहाँको भनाइ थियो ।
“धेरै देशमा सांसद विकास कोष दिने प्रचलन छ, तर त्यो रकम आफूखुसी गर्न र आफूले चाहेको काम गर्न होइन”, मन्त्री साउदले भन्नुभयो, “एक करोड भन्दा कम रकम कुनै पनि योजनामा छुट्याउन पाइदैन र पाँच करोडले आफ्नो क्षेत्रमा देखिने ठूला आयोजना ठेक्का पद्धतिबाट सम्पन्न गने गरि बिकास आयोजना छनौट गर्ने अधिकार सांसदलाई छ ।”

पहुँचमा हुनेले आफ्नो क्षेत्रमा मात्रै बजेट लैजाने र अरु क्षेत्रमा बजेट नजाने सम्भावना रहेकाले देशभरका १६२ क्षेत्रमा सांसद कोषबाट पाँच करोडका दरले रकम जादा सबै निर्वाचन क्षेत्रमा संतुलित बिकासमा सहयोग पुर्याउन सांसद बिकास कोषको रकम बजेटमा ल्याएको उहाँले बताउनुभयो । यो रकम खर्च गर्न सरकारले निर्देशिका जारी गरेर परिचालन गर्ने उहाँको भनाइ थियो ।
स्वर्गीय जोन्छेको योगदानको चर्चाए गर्दै मन्त्री साउदले काँग्रेस भित्र न्यायको आवाज बोल्ने व्यक्ति र सार्वजनिक पदको लोभ नगर्ने नेतालाई पनि तत्कालिन माओवादीले निशाना बनाएको टिप्पणी गर्नुभयो ।

उहाँले पार्टीमा भित्रभित्रै लडेर प्रतिपक्षलाई मैदान खाली गर्नुभन्दा नेपाली काँग्रेसका युवा वर्गले अब गन्तव्यको पहिचान पहिल्याउनु पर्नेमा जोड दिदै आफूपनि केही गर्न नसक्ने र पार्टीको पनि बिरोध गरिरहने चरित्र अब बन्द गर्नु पर्नेमा जोड दिनुभयो । युवाहरुले अब पार्टी चलाउने ड्रिम प्रोजेक्ट ल्याउन पर्छ भन्दै मन्त्री साउदले बिरोधलाई छाड्दै पार्टीका लागि मेची महाकाली अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमा कोइरालाले वर्तमान संविधानको अहिलेकै व्यबस्थाले देशमा बहुमतको एकल सरकार गठन हुने सम्भावना नरहेको भन्दै संविधान संशोधन गर्र्नुपर्ने औल्याउनु भयो । काँग्रेसका अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टी भित्रको बिवाद अन्त्य गरेर एक ढिक्का बनाएर लैजानु आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद एवं काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जनयुद्ध कालमा २०५८ सालमा तत्कालिन माओवादीले घरमै बसिरहेको जोन्छेँलाई गोली हानेको स्मरण गर्दै अहिले संविधानको रक्षा र राष्ट्रको हितका लागि विगतका तितोलाई बिर्सिएर त्यही पार्टीसँग गठबन्धन गरि दुई वटा निर्वाचन र सरकारमासंगै जानु परेको बताउनुभयो ।

उहाँले पार्टीको भूमिका प्रति आम कार्यकर्तामा असन्तुष्टी चुलिदै गएको बताउदै उहाँले एउटा वडाध्यक्षले २० करोड खर्च गर्ने तर सांसदले पाँच करोड खर्च गर्ने गरि सांसद बिकास कोषको व्यबस्था गर्नु अनावश्यक भएको बताउनु भयो ।
कार्यक्रममा भक्तपुरका शिक्षासेवी गंगाधर हाडालाई मरणोपरान्त सम्मान गरिएको हो । मन्त्री साउदले हाडाकी पत्नी कविता हाडालाई उक्त सम्मान पत्र प्रदान गर्नुभयो । त्यस्तै बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई रु. पाँच हजार, रु. सात हजार र रु. १२ हजारको छात्रबृत्ति रकम प्रदान गर्नुभयो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रजनी जोन्छेँको सभापतित्वमा सम्पन्न भएको थियो । उहाँले नेपाली काँग्रेसमा स्वर्गीय जोन्छेँले पुर्याउनु भएको योगदानकाबारेमा चर्चा गर्नु भएको थियो ।