हामीसँग जोडिनुहोस

समानुपाति प्रणालीलाई व्यबस्थापन गर्न संविधान संशोधन आवश्यक : काँग्रेस सभापति देउवा

4 मिनेट
भक्तपुर, २७ जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली काँग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानु पर्ने बाध्यता काँग्रेससंग रहेको बताउनु भएको छ । आज नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले यहाँ आयोजना गरेको नेपाली काँग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले गठबन्धन गरेर निर्वाचनमा जादा पार्टी ठूलो बनेको बताउनु भयो ।
कार्यक्रममा पार्टीका शिर्ष नेताहरुले समानुपातिक प्रणालीले व्यबस्थालाई नै संकटमा पार्ने धारणा राखेपछि सभापति देउवाले प्रतक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने गरि व्यबस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नु पर्ने बताउनु भयो ।
पार्टी सभापति देउवाले भन्नुभयो, “समानुपातिक प्रणालीलाई व्यबस्थापन गर्न संविधानमा रहेको व्यबस्था परिमार्जन गरेर जानु पर्छ, त्यसका लागि संधिान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसदमा दुई तिहाई बहुमतले पारित गर्नुपर्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सकिदैन ।”
काँग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै उहाँले नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिनुभयो । संगठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै सुरु गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनेकोे बताउनु भयो । उहाँले भन्नुभयो, “जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेशविपरित चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउछ, राष्ट्रपतिले यसलाई रोक्नु पथ्र्यो, दण्डहीनतालाई प्रश्रय दिने गरी भएका यस्ता निर्णयलाई जनताले नियालीरहेका छन् ।”
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउदै नेता कोइरालाले भन्नुभयो, “अहिले निर्वाचन आयोगलाई हामीहरुले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौं तर सरकारले निर्वाचन आयोगलाई सिडियोको मातहतमा लगेर एउटा कोठामा थन्क्याएर राख्न खोज्दैछ, त्यसले लोकतन्त्र बलियो हुन सक्दैन, लोकतन्त्र बलियो हुन निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ ।”
उहाँले सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ भन्दै उहाँले देशमा दण्डहिनता बढ्दै गएको बताउनु भयो ।
काँग्रेस सत्ता पक्ष भएकाले बजेटमा रहेका कमजोरीलाई संसदमा उठाउन नसकेको बताउदै नेता कोइरालाले भन्नुभयो, “संसदमा बजेटबारे बिरोध गर्न सत्तापक्ष भएकाले सकिन, तर बजेटमा गलत गरेका छौँ भनेर मनन गर्ने बेला आएको छ, नेपालमा उत्पादित हुने फलफुल, आलू, प्याजलाई पनि भ्याट लगाउँदा जनताले के बुझ्छन् ? बजार भाउ अचाक्ली बढिसक्यो, जनतालाई मार पर्ने कार्य गर्नु हुदैन ।”
मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत आउन नसक्ने अबस्था आएकाले संविधान संशोधन गरेर जानु पर्ने र समानुपातिक प्रणालीको व्यबस्थालाई परिमार्जन गर्न नसके देश संकटमा पर्ने उहाँले औल्याउनुभयो ।
नेताहरुले पूर्व राजाले केही बोल्यो कि गणतन्त्र जान्छ, सिद्धिन्छ भनेर बोल्नु कमजोर मानसिकताको उपज भएको टिप्पणी गर्दै उहाँले पूर्वराजाले बोल्ने बित्तिकै गणतन्त्र गयो, समाप्त हुन थाल्यो भनेर बुझ्न गलत भएको र त्यसरी गणतन्त्रको समाप्त पनि नहुने बताउनु भयो ।
पार्टी भित्र युवा पुस्ताको उपस्थिति बलियो रहेकाले काँग्रेस कमजोर भयो भन्ने कुरा हल्ला मात्र भएको भन्दै उहाँले पार्टी जनतासँग भने टाढिएको बताउनुुभययो । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको भन्दै उहाँले पार्टीलाई जनतासँग सही ढंगले जोड्न नसके काँग्रेसको औचित्य गुमाउदै जाने बताउनुभयो ।
उहाँले युवा पुस्ताले काँग्रेसलाई बलियो बनाउदै आगामी निर्वाचनमा वडा, पालिकादेखि संसदसम्म काँग्रेस एक्लैले उम्मेदवारी दिएर आफ्नो अस्तित्व बलियो बनाउने बताउनुभयो ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु रमा कोइराला, चन्द्रमोहन यादव, मदनकृष्ण श्रेष्ठ, गंगा अवाल वागमति प्रदेश सभापत इन्द्र बानियाँ, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, क्षेत्रीय सभापति एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पार्टीका प्रदेश सदस्य जयन्द्र खड्का, पार्टीका सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, कार्यक्रम संयोजक कृष्णमृुरारी न्यौपाने, पार्टी सचिव यादव अधिकारीलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजान नेतृत्व तहदेखि जिल्ला तहसम्मका नेताहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
काँग्रेस जिल्ला सभापति एवं कार्यक्रमका सभापति दूर्लभ थापाले पार्टीको भूमिका प्रति आम कार्यकर्तामा असन्तुष्टी चुलिदै गएको बताउदै पार्टीलाई बलियो बनाएर लैजान गुट उपगुटको अन्त्य हुनुपर्ने बताउनु भयो । भक्तपुरको काँग्रेसको नेतृत्व लिन चाहनेहरुले काँग्रेसको बलियो बनाउने आधार लिएर अगाडि आउनु पर्नेमा गुट उपगुट चलाएर काँग्रेसकै बिरुद्ध बोल्दै हिडेको बताउनु भयो ।
उहाँले आजको जिल्ला सम्मेलनमा प्रस्तुत हुने बिभिन्न राजनीतिक, आर्थिक, सामाजिकलगायतका प्रतिवेदनमाथि बृहत छलफल गरेर भक्तपुर काँग्रेसमा गुृटको अन्त्य गर्दै एकढिक्का बनाएर लैजाने बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।