भक्तपुर, २७ जेठ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताउनु भएको छ । आज भक्तपुरमा नेकपा (एकीकृत समाजवादी) को प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेकपा समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, “कसै कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । तर हामी कतै विलय हुदैनौ बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौँ ।”
उहाँले कम्युनिष्ट सबै मिलेर अघि बढ्नु पर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताउनु भयो । नेकपा एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नु पर्ला भनेर ७० वर्षको उमेर हद हटाएको बताउदै आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताउनुभयो ।
उहाँले चार वटा पार्टी मिलेर मोर्चा बनाउने तयारी गरिरहेको बताउनु भयो । अध्यक्ष नेपालले भन्नुभयो, “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफै र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔ, सडक, संसदमा आवाज बुलन्द गरौ र सरकारमा बसेर
राम्रो काम गरौ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरि छलफल गर्छौ ।”
नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने प्रयास भइरहेको बताउदै उहाँले राजावादीहरुले टाउको उठाउने कोशिस गरेपनि त्यसलाई सफल हुन नदिने बताउनुभयो ।
मल अभाव हुन नदिन रु. ३० अर्ब बजेट छुट्यायौ ; मन्त्री डा. भुषाल
कार्यक्रममा कृषि तथा पशुपंक्षि मन्त्री डा. बेदुराम भुषालले सरकारले यस वर्ष मल खरिदका लागि बजेट मार्फत ३० अर्ब रुपैयाको बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “मल खरिदका लागि गतवर्षको जस्तो रु. १५ अर्बले पुग्दैन भनेर यसवर्ष बजेटमै रुं ३० अर्बको सुनिश्चितता गरेका छौँ, यस वर्ष मल अभाव हुन दिदैनौ ।”
उहाँले सरकारमा जम्मा दुई वटा मन्त्री लिएर बसेकाले आफ्नो पार्टी निर्णायकमा नभएपनि समाजवादीको भागमा परेका दुई मन्त्रालयको जिम्मेवारी भने पूरा गर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रको बिकासका लागि पहल गरेको, बाझो जमिन उपयोग गर्ने नीति लिएर बजेट छुट्याएको, कृषिमा यान्त्रिकरण, बजारीकरणको समस्याका लागि पहल सुरु गरेको, सिंचाइको योजना ल्याएको बताउनुभयो ।