जेठ ३१, काठमाण्डौ ।
आज विश्व रक्तदाता दिवस, ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।
नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिने गरेको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ ।
आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्यालगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।