रमेश गिरी
भक्तपुर, १४ असार : के तपाईको हातमा सीप छ ?, के तपाईलाई रोजगारी चाहिएको छ ? के तपाई भविश्यमा के गर्ने भनेर अन्योलमा हुनुहन्छ ? त्यसो हो भने तपाईहरुकै लागि लक्षित गरि हुन लागेको निःशुल्क प्रवेश हुने ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ मा जान नभुल्नु होला ।
मध्यपुरथिमि नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उदेश्यले ‘मेरो वृत्ति मेरो खाजी, मेरो सीप भविश्यको दीप’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक मध्यपुरथिमि नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना हुन लागेको जनाएको हो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यहीँ असार १६ गते मध्यपुरथिमि नगरपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुने मेलामा स्थानीय नागरिकलाई तत्कालै रोजगार उपलब्ध गराउने र आफ्नो सीपलाई पहिचान गर्न नसकेका युवा वर्गलाई उपयुक्त मार्ग निर्देशन गर्न परामर्श सेवा दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र उपयुक्त रोजगारीको खोजीमा रहेका जनशक्तिलाई एकै ठाउँमा ल्याई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने, विद्यालय तहको पढाई सकेर पनि अब के गर्ने भनेर आफ्नो लक्ष्य पहिचान गर्न नसकेका युवा विद्यार्थीलाई उपयुक्त मार्ग निर्देश गर्ने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्न लागेको हो ।”
मध्यपुरथिमि नगरपालिकाका भविश्य खोज्दै गरेका बिद्यार्थी तथा युवाहरुमा आगामी शिक्षा के लिने, आफ्नो सपी पहिचान गर्ने, आफ्नो चाहना अनुसारको कुन सीप लिने, हातमा सीप भएकाहरुले अब के गर्ने भन्ने परामर्श दिदै उनीहरुको वृत्ति विकासमा टेवा पुर्याउन मेलाले ठूलो टेवा दिने उहाँले बताउनु भयो ।
मेलामा युवा विद्यार्थीलाई वृत्ति विकास सम्बन्धी परामर्श सेवा दिईने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगार सम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिईने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने उहाँले जानकारी दिनुभयो ।
मेला सुरु हुनु अगावै प्याब्सनलगायतका केही संस्थाले कोटानै तोकेर रोजगारीको सुनिश्चितता गरिसक्नु भएको जानकारी दिदै उहाँले मेलाले रोजगारी खोज्दै विदेशिन खोज्ने युवालाई समेत रोजगारीको व्यबस्था गरिने छ ।
पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मेलामा विभिन्न उद्योग व्यवसाय एवं रोजगारदाता कम्पनीबाट १६ वटा, मध्यपुरथिमि नगरपालिकाबाट तीन वटा, प्राविधिक शिक्षालयहरुबाट नौ वटा, स्थानिय उत्पादन (मध्यपुर माक्स मेकिङ्ग र हस्तकला) बाट दुई वटा, होटल व्यवसायी दुई वटा, अस्पताल दुई वटा, बैंक तथा वित्तिय संस्था एक वटा, वल्र्डलिङ्कको एक वटा, ईन्स्योर परियोजना एक वटा गरी कुल ३७ वटा स्टलहरु राखिने बताउनुभयो ।
मेलामा एकदिनमै पाँचहजार जनाले सहभागिता रहने अनुमान गरिएको छ भने मेलाबाट कम्तीमा दुई हजार युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसाय एवं रोजगारदाताहरुमार्फत २०० भन्दा बढीले एकैदिन रोजगारी पाउने, अपेक्षा गरिएको उहाँले बताउनु भयो ।
मेला आयोजना मूल समारोह समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले रोजगारदाता कम्पनीले मेलामै अन्तरबार्ता लिई रोजगारीको सुनिश्चितता गरिने, उद्यम ब्यवसाय सुरु गर्न चाहनेहरुको लागि उपयुक्त परामर्श दिने, सफल उद्यमीहरुको कथा, अनुभब तथा सिकाईको आदान प्रदान गरिने जानकारी दिनुभयो ।