हामीसँग जोडिनुहोस

आज राष्ट्रिय धान दिवस विभिन्न् कार्यक्रम गरी मनाइँदै

2 मिनेट

असार १५, काठमाण्डौ ।

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ ।

जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने, जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ । आज धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् नार्कको परिसर ललितपुरको खुमलटारमा हुँदैछ ।२०६१ साल मङ्सिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ । यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ ।

अस्ति बुधवारसम्म १ लाख ६६ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । अहिले किसानलाई प्रमुख बाली धान रोपाइँको चटारो छ । उत्पादन बढाउने सरकारको उद्देश्य भए पनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभावलगायतका समस्या यथावत् छन् ।

सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । जनशक्तिको अभाव र लागत महँगो हुँदा पनि किसान समस्यामा छन् । यहीबेला पहाडी क्षेत्रमा लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएका छन् ।

जोत्ने गोरु नै बिरामी हुने र मर्ने भएपछि रोपाइँमा असर परेको छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र होइन, समग्र अर्थतन्त्रमा पनि असर पुग्नेछ । पोहोर ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो।

यो अघिल्लो वर्ष २०७८र७९ को तुलनामा ६ दशमलव ९४ प्रतिशतले धेरै हो । पोहोर परारको तुलनामा धान उत्पादन केही बढे पनि तीन वर्षअघिको तहमा पुग्न सकेको छैन । नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७र७८ मा भएको थियो । त्यस वर्ष रासायनिक मलको व्यवस्थापन तथा मौसमले पनि साथ दिएका कारण ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।

साथै असार १५ का दिन आज दहीचिउरा समेत खाएर रमाइलो गर्ने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाने गर्छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।