-रमेश गिरी
भक्तपुर, १५ असार : सूर्यविनायक नगरपालिका–८ सिपाडोल नैचालस्थित ऐतिहासिक बुकाचो गढीँमा निर्माण गरिएको संरचनाको उद्घाटन एवं पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक आज अनावरण गरिएको छ ।
नेपाली सेनाको इन्द्र बक्स गणले आज गढीमा आयोजना गरेको राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित पूर्णकदको शालिक अनावरण तथा ऐतिहासिक बुकाचो गढीको समुदघाटन कार्यक्रममा वागमती प्रदेशका सांसद किरण थापा र नेपाली सेनाका उपत्यका पृतनापति उपरथी सागरबहादुर थापाले संयुक्त रूपमा गढीँको उद्घाटन एवं शालिकको अनावरण गर्नु भएको हो ।
नेपाल एकीकरण गर्नेक्रममा भक्तपुर आक्रमण गरि विजयी हासिल गर्दा पृथ्वी नारायण शाहले बुकाचो गढीमा बंकर बनाएर बसेको क्षेत्रमा नेपाली सेनाको ५० लाख रुपैयाँ र सूर्यविनायक नगरपालिकाको रु. २० लाखको गरि कूल रु. ७० लाखको लागतमा निर्माण भएको शाहको ६ फिट उचाईको पित्तलबाट निर्मित शालिक, बंकर क्षेत्रमा निर्माण गरिएको दुईवटा कोठासहितको सानो भवन, कम्पाउण्डलगायतको संरचनाको आज उद्घाटन गरिएको वागमती प्रदेशसभाका सांसद थापाले बताउनुभयो ।
उहाँले भक्तपुरको पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाएको ऐतिहासिक बुकाचो गढीँमा वागमती प्रदेश प्रदेश मन्त्रालयबाट विनियोजित बजेट र सूर्यविनायक नगरपालिकाको बजेटबाट परम्परागत शैलीमा बिन्दवासिनी मन्दिर निर्माण भइरहेको छ भने नेपाली सेनाकै रु. २५ लाखको लागतमा यसअघिनै भ्यू टावर निर्माण सम्पन्न भएपछि यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको बताउनु भयो ।
सांसद थापाले भन्नुभयो, “यसअघि म सूर्यविनायक नगरपालिका वडा नं.७ को वडाध्यक्ष हुँदा नगरपालिकाको रु.१० लाखको बजेटमा पाटी भञ्याङ्गबाट ६ मिटर चौडा डेढकिलोमिटर लामो सडकको ट्रयाक खोले, त्यसपछि शहरी बिकास मन्त्रालय अन्तर्गत उपत्यका नगर विकास कार्यालयबाट प्राप्त रु. एक करोड ५० लाखको लागतमा नालीसहित सडक ढलान निर्माण गर्न सफल भएपछि यो क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।”
त्यस क्षेत्रमा नगरपालिकाले पिकनिक स्पोर्ट, शौचालय र पानी ट्यांकी निर्माण गरिदिएपछि भ्यू टावर चढेर हिमाली दृश्यसहित उपत्यका हेर्न र गढीँको अवलोकन गर्न उपत्यका लगायत बिभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
सांसद थापाले भक्तपुरको जगातीबाट ७ किलोमिटरमा पुग्न सकिने २१ सय मिटर उचाईमा रहेको गढीँबाट उपत्यकाको मनोरम दृश्यहरु देख्न सकिने, यहाँबाट जंगलका हरियाली दृश्यावलोकन गर्न सकिने, यहाँका बन्यजन्तु एवं चराहरुको अवलोकन गर्न सकिने र यहाँबाट देखिने माछापुच्छ«े, गणेश, गौरीशंकर, सगरमाथालगायतको हिमाल देख्न सकिने बताउनुभयो । उहाँले गढीँको संरक्षण र सम्बद्र्धन जनप्रतिनिधिहरुले गर्नु पर्नेमा जोड दिदै यसलाई भक्तपरकै मुख्य पर्यटकको रुपमा बिकास गर्नुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा नेपाली सेनाका उपत्यका पृतनापति उपरथी सागरबहादुर थापाले नेपालको एकीकरणका सन्दर्भमा पृथ्वीनारायण शाहले बनाएको गढीँ, किल्लाको संरक्षण गर्ने र इतिहासलाई जिवित राख्न नेपाली सेना लागिरहेको उहाँले बताउनु भयो । यस्ता ऐतिहासिक क्षेत्रको नेपाली सेनाले संरक्षण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ऐतिहासिक गढीको संरक्षण भएको बताउदै सुरक्षाको दृष्टिकोणबाट गर्नु पर्ने सहयोग जिल्ला प्रशासन कार्यालयले व्यबस्थाका लागि सहयोग गर्ने बताउनु भयो ।