भक्तपुर, १८ असार : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागि रहने बताउनु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को आज उद्घाटन गर्दै उहाँले राम्रा कुरालाई बढावा दिएर जानु पर्ने बताउनु भयो ।
नेपालमा बालबालिका, ज्येष्ठ नागरिक प्रति हेरचाह गर्ने, सेवा गर्ने परम्परा निक्कै पुरानो भएको चर्चा गर्दै कार्यक्रममा उहाँले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उहाँका आमाबुबाको उद्धार गरिएको कथा सुनाउनु भयो ।
रिडीको छेउको रुरु क्षेत्र उपनिषद् र पुराणको प्रसिद्ध क्षेत्र भएको सुनाउदै एमाले अध्यक्ष ओलीले हरिणले समेत दूध पिलाएर बालिका बचाएको पवित्र भूमि नेपाल नै भएको इतिहास रहेको बताउनुभयो । नेपाली परम्परा, संस्कृति र पहिचान भन्दा फरक संस्कृति नेपालमा भित्रिन थालेकोमा चिन्ता व्यक्त गर्दै उहाँले गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमा बुबालाई हेला गर्ने कुरा सुनिन थाल्नु दुखद भएको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले भन्नुभयो, “समाजले नराम्रा मात्रै खोज्ने र खोतल्ने नभई राम्रा कुरालाई बढावा दिएर जानु पर्छ, मानिसलाई उत्प्रेरित गरेर घृणा होइन प्रेम फैलाउनु पर्छ, हिंसा होइन शान्ति फैलाउनु पर्छ, द्वन्द्व होइन मेलमिलाप फैलाउनु पर्छ, विविधतामा एकता बढाउने सोच अगाडि बढाउनु पर्छ ।”
देश र जनताका लागि राम्रा काम गरेकै कारण आफूलाई सरकारमा जान नदिन निरन्तर षडयन्त्र भइरहेको भन्दै उहाँले भन्नुभयो, “मलाई कसले के भन्यो भन्ने कुरामा म खासै चासो दिन्न, मैले राम्रो काम गर्दा पनि त्यसको श्रेय दिए पनि नदिए पनि म अर्थ राख्दिन, कसैले राम्रो भनोस कि राम्रो नभनोस त्यसको अर्थ राख्दैन, तर जसले जे भने पनि आफूले राम्रो काम अनवरत रुपमा गरिरहनु पर्छ, म गरिरहन्छु ।”
परलोक कसैले देखेको छैन, त्यहाँ सुख हुन्छ, हुदैन त्यसमा नलागौ तर यो लोक आनन्दमय बनाउनु पर्छ, समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ, देश समृद्ध होस्, जनता समृद्ध र सुखी होउनु उहाँले भन्नुभयो ।
आफ्नो नेतृत्वको सरकार हुँदा ज्येष्ठ नागरिकको भत्ता चार हजार पु¥याएको, एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपाङ्गता भएका व्यक्तिहरूलाई समेत भत्ताको व्यबस्था गरेको, सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, सडकलाई मानव मुक्त बनाउने अभियान सुरु गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको लगायत थुप्रै काम गरे पनि आफूले जस लिन नखोजेको बताउनु भयो ।