काठमाडौँ,१५ साउन।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा।गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्।
आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन्।
उनले शुल्क बढाउनेसम्बन्धी सिटिईभिटीको निर्णय खारेज गर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पु¥याउने तथा सञ्चालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा विज्ञान प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानून बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरुमा विद्यमान शैया अनुरुप स्थायी दरबन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुवाट निःशुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानूनी प्रावधान कडाइका साथ लागू गर्नेलगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गरेका छन्।
उनले सिटीइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।