काठमाडौं, १७ साउन।
‘एसिया रग्बी यू–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।
नेपाल रग्बी सङ्घले आगामी भदौ २ र ३ गते आयोजना गर्ने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न ७ र महिलातर्फ ३ राष्ट्रको सहभागिता रहनेछ।
प्रतियोगिताका बारेमा जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहने बताए।
महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेशिया रहेका छन्। उक्त प्रतियोगिताको विजेता टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। उक्त प्रतियोगिताका लागि गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ।
उक्त प्रतियोगिताको लागि करिब ७२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाइ छ। उक्त प्रतियोतिगाको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।