भक्तपुर, २० साउन । ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ भक्तपुर नगरपालिकाले आज आयोजना गरेको साँस्कृतिक सम्पदा पदयात्रा सम्पन्न भएको छ ।
ऐतिहासिक एवम् साँस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे जानकारी गराउदै सम्पदा संरक्षणमा उत्साहित गराउने उद्देश्यले आयोजना गरेको पदयात्राको नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले रिबन काटेर उद्घाटन गरेपछि सुरु भएको थियो ।
नगरपालिकाको वडा नं. ९ स्थित लामग पुखुबाट सुरु भएको पदयात्रा हुने र वडा नं १ सल्लाघारीस्थित न्हुः पुखु अर्थात रानी पोखरीमा पुगेर समापन भएको थियो ।
लामग पुखुबाट सुरु भएको पदयात्रा नगाँचा ग्वंग पुखु, क्वाठडौँ पुखु, तिनाछें सलां गणेश पुखु, बसिकुलांस्थित नाग पुखु, दुगुमला भोलाछें पुखु, अंचा पुखु, ब्यासी पुखु, ख्यो पुखु, धवाहिटी पुखु, कालदह पुखु, नः पुखु, तः पुखु अर्थात सिद्ध पोखरी हुदै न्हु पुखु अर्थात रानी पोखरी पुगेर समापन भएको हो ।
समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै जाने क्रममा धेरै चुनौतीहरु थपिएको बताउदै उहाँले मानव निर्मित सम्पदाहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने बताउनु भयो ।
नेपालमा अनियमितता र भ्रष्टाचारका घटनाहरु बढ्दै गइरहेको सन्दर्भ जोड्दै उहाँले साँस्कृतिक सम्पदा मास्ने र सार्वजनिक जग्गा मिच्नु आफैमा भ्रष्टाचारको रुप भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई अझ जीवन्त बनाउने प्रयासस्वरुप भक्तपुर नपाले यहाँका साँस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति लिँदै आएको बताउनुभयो ।
भक्तपुर महोत्सवको तयारीको रुपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको बताउनुभयो । पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य भक्तपुर नपाको रहेको बताउँदै उहाँले नयाँको पुस्ताको सेवा गर्न भक्तपुर नपाले सम्पदा संरक्षणलाई जोड दिँदै आएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीहरुको उपयोगिताबारे प्रष्ट पार्दै पोखरीहरु ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाको रुपमा रहेको बताउनुभयो । उहाँले पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने भक्तपुर नपाको सोच रहेको बताउँदै पोखरीहरुले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाहरुको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रम आयोजनाले भक्तपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
साँस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा साँस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । ¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयम्सेवक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह र नगरबासीहरुलगायतको सहभागिता रहेको थियो । पदयात्राका क्रममा नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक पोखरीहरुको अवलोकन, त्यहाँको अबस्थाकाबारेमा जानकारी गराइएको थियो ।