भक्तपुर, २२ साउन : विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र पर्दै आएको भक्तपुर भत्केको पाटी नगरकोट सडक खण्डमा गुणस्तरहिन काम भएको पाईएको छ ।
आज भक्तपुर नगरकोट सडक खण्डको अबस्थाकोबारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीहरु सहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहिन काम भएको निष्कर्ष निकालिएको हो ।
सडक अनुगमन पछि नगरकोटमा सञ्चारकमीृहरुसँग कुरा गर्दै प्रजिअ रिजालले सडक अनुगमनका क्रममा निर्माण कम्पनीले सडकको कालोपत्र गुणस्तरहिन रहेको निष्कर्ष निकालेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “सडक निर्माणको अन्तिम चरणमा पुगेको पाईयो तर सडकको कालोपत्र गुणस्तरीय छैन, अहिलेककै अबस्थामा सडक स्तरोन्नती गरेर मात्रै हस्तान्तरण गर्नु पर्ने देखिन्छ, यद्यपी झरी रोकिने बित्तिकै सडक निर्माणको बाँकी काम अगाडि बढाएर आगामी दशैसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्, अब पनि निर्माण सम्पन्न नभए सरकारले ठेक्का रद्ध गरेर कारबाही गर्नेछ ।”
निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाईएको बताउदै बिभिन्न ठाउँमा आएका अबरोध हटाउन पहल गर्ने बताउनु भयो ।
अनुगमनमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटक पटक बोलाउदाँ पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउदै समस्या आएको ठाउँमा नगर प्रमुख तथा उपप्रमुख आफै उभिएर समस्या समाधान गर्न तत्पर रहेको बताउनुभयो ।
अनुगमनमा सहभागि नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव शुसिल बस्नेत, नेकपा माओवादी केन्द्रका सुनिल वासु, राप्रपाका केन्द्रीय सहमहामन्त्री रबिन्द्रप्रताप शाह, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले छिटो निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्न आयोजनालाई आव्हान गर्नुभयो ।
भक्तपुर नगरकोट सिपाघाट÷बालाजु त्रिशुली सडक योजना कार्यालयको आयोजना अन्तर्गत रहेको उक्त सडकको आयोजना सव–इन्जिनियर सुनिता धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउदै आगामी असोजसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताउनु भयो । शैलुङ् कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गर्नुभयो ।
२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रूपमा निर्माण गर्ने गरी नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो ।
२७ करोड रूपैयाँमा ठेक्का सम्झौता भए पनि बजेट थप गरेर ३१ करोड पु¥याइएको १५ किलोमिटर ६६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड नौ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि यसअघि सरकारले ठेक्का सम्झौता रद्द गर्न पत्राचार समेत गरेको थियो ।