२५ साउन,काठमाडौँ ।
पाकिस्तानले एसिया कप–२०२३ मा खेल्ने १८ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ।
पाकिस्तान क्रिकेट बोर्ड ‘पीसीबी’ले स्टार ब्याटर बाबर आजमको कप्तानीमा अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखला र एसिया कपका लागि टोली घोषणा गरेको हो। अलराउन्डर फहिम अशरफ दुई वर्षपछि टोलीमा फर्किएका छन्। अशरफले अन्तिम पटक जुलाई २०२१ मा एकदिवसीय खेलेका थिए।
अलराउन्डर ताइब ताहिर पहिलो पटक एकदिवसीय टोलीमा परेका हुन्। पाकिस्तानका लागि तीन टी–ट्वान्टी खेलेका उनले हालै सम्पन्न इमर्जिङ एसिया कपको फाइनलमा भारतविरुद्ध शतक प्रहार गर्दै पाकिस्तानलाई च्याम्पियन बनाएका थिए।
केही समययता टेस्ट क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरिरहेका सलमान आगा र साउद शकिललाई पनि एकदिवसीय टोलीमा समावेश गरिएको छ। साउद शकिल एक वर्षपछि एकदिवसीय क्रिकेटमा फर्किने भएका छन्।
शकीलले अन्तिम पटक पाकिस्तानका लागि मार्च २०२२ मा एकदिवसीय खेल खेलेका थिए।तर शकिललाई अफगानिस्तान सिरिजका लागि मात्रै समावेश गरिएको छ। अफगानिस्तानविरुद्धको सिरिज २२ अगस्टबाट सुरु हुनेछ। त्यस्तै, एसिया कपमा पाकिस्तानले पहिलो खेल नेपालसँग अगस्ट ३० मा मुल्तानमा खेल्ने छ।एसिया कपमा नेपाल र पाकिस्तानका अलावा भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानका टोली सहभागी छन्।
प्रतियोगिताका चार खेल पाकिस्तानमा हुनेछ भने फाइनलसहित बाँकी खेल श्रीलंकामा खेलाइनेछ। पाकिस्तान–अफगानिस्तान सिरिज पनि श्रीलंकामा हुनेछ।