
२५ साउन,एजेन्सी।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन्। आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन्।साथै पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन्।
भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ।
‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए। गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो। उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ।
त वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ। पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो।