साउन २८, दोलखा ।
काठमाडौं महानगरपालिकाभित्र वर्षायाममा पानीपुरी,चटपटे बेचबिखनमा रोक लगाउनुपर्ने प्रस्ताव अगाडि बढेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यस्तो प्रस्ताव गरेका हुन्। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनुपर्ने बताइन्।उनले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन पनि निर्देशन दिइन्।
‘माछा मासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ, यसको स्रोतहरू मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्’, उनले भनिन,‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो,मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ।’
बैठकमा वडाअध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले फाल्नु पर्ने तरकारी र फलफूल बेचबिखनमा तत्काल रोक लगाउनुपर्ने बताए।