भदौ ५, काठमाण्डौ ।
प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
यसैबीच,, राष्ट्रियसभाको बैठक पनि बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची छ।बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छ।