हामीसँग जोडिनुहोस

छाता ओढेरै दिनभर नगरकोटको हाट बजारमा क्रेताबिक्रेताको भीड

1 मिनेट
भक्तपुर, ८ भदौ : चाँगुनारायण नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र नगरकोटमा लागेको प्राङ्गारिक उन्मुख हाट बजार झमझम पानीमा पनि क्रेता बिक्रेताको भीड लागेको छ । आज लागेको प्राङ्गारिक उन्मुख तरकारीको हाट बजारमा बिहानैदेखि तरकारीलगायत बिभिन्न खाद्यान्नहरुको क्रेता बिक्रेताको भीड लागेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई स्थानीय बजारमै प्रबद्र्धन गर्ने उदेश्यले चाँगुनरायण नगरपालिका–६ वडा कार्यालय र नगरकोटसँग सिमाना जोडिएको काभ्रेको मण्डन देउपुर नगरपालिकाको समन्वय एवं एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको ब्यवस्थापनमा आयोजना गरेको हाट बजारमा क्रेता र बिक्रेताको दिनभर भीड लागेको हो ।
पर्यटकीय क्षेत्र नगरकोटमा ईतिहासमै पहिलो पटक सञ्चालनमा ल्याएको हाट बजार प्रत्येक साताको शुक्रबार सञ्चालन गर्ने गरि सुरु गरिएको हाट बजारमा आज छाता ओढेरै पनि क्रेता र बिक्रेताको भीड लागेको जानकारी दिनुभयो ।
हाट बजारमा बिहानैदेखि साँझसम्म स्थानीयवासीले उत्पादन गरेको कृषि एवं खाद्यान्नका सामग्रीहरु बिक्री गर्ने र किन्ने क्रेताको भीड लागेको थियो । स्थानीयले उत्पादन गरेको प्राङ्गारिक हरियो तरकारी, लोकल चामलको पिठो, बिभिन्न स्थानीय खाद्य सामग्रीहरु हाट बजारमा बिक्रीका लागि स्थानीयले ल्याएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।
भक्तपुर र काभ्रेका स्थानीयवासीले उत्पादन गरेको कृषि उपजहरुलाई सहजै बजार व्यबस्थापन गर्न तथा नगरकोटका साना तथा ठूला होटलदेखि स्थानीयवासीसमेतले स्थानीय उत्पादन खरिद गर्न दिनभर भीड लागेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष लामाले भन्नुभयो, “परीक्षणको रुपमा विगत तीन सातादेखि शुक्रबारे हाट बजार सुरु गरेका थियौ, आजको बजार देख्दा हामी छक्क परेका छौँ, आज साँझसम्म बिक्री गर्ने स्थानीय व्यापारीको चाप पनि उत्तिकै बढेको छ, किन्ने क्रेताहरु पनि स्थानीयवासीदेखि नगरकोटका होटलहरु पनि उत्तिकै थिए, यस्तै चाप बढेमा अब सातामा दुई दिन शुक्रबार र शनिवार हाट बजार सञ्चालन गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ ।”

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।