भक्तपुर, ८ भदौ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले चालू आ.ब.मा विनियोजन गरेको एक अर्ब ७९ करोड बजेटमध्ये अधिकांश बिकासमै खर्च गर्ने बताउनुभयो । चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाले प्रत्येक बिकासमा कामलाई पारदर्शी ढंगले अगाडि बढाउने बताउनु भयो ।
यहाँको बाटोको अबस्था देख्दा दुःख लागेको बताउदै उहाँले भन्नुभयो, “यहाँ आउँदा यो सडको अबस्था देख्दा निकै दुःख लागेको छ, यहाँको जनताको कठिन यात्रा देख्दा हिजो हामीले जनताप्रति गरेको संकल्प पुुरा गर्न सकेका छैनौ कि भन्ने लागेको छ, तर त्यसो होइन हामी पुरा गर्छौँ, हामी हाम्रो संल्पलाई बिचमा छाड्दैनौ, जनताप्रति वफादार भएर, जनताको सेवक भएर हामी काम गर्छौँ, तपाईहरु ढुक्क हुनुहोस् ।”
नगरपालिकाको भूगोल ठूलो छ, काम गर्नु पर्ने धेरै ठाउँ छन् तर आन्तरिक श्रोत निकै कम छ भन्दै उहाँले ठूलो सम्भावना बोकेको चाँगुनारायणको आर्थिक, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, राजगारीको बिकास गरि सुबिधा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले यस क्षेत्रमा व्यबस्थित नयाँ सहर निर्माण गर्ने योजनाका साथ अगाडि बढेको बताउदै विगतमा नमूना गाबिसको रुपमा रहेको यस क्षेत्रलाई नमूनाको वडा र क्षेत्र बनाउने बताउनुभयो । उहाँले तेलकोट नाटेश्वरी पेप्सीकोला सडकमा ढल हाल्ने काम भएको, वर्षा पछि फुटपाथसहित कालोपत्र गर्ने, काभ्रे पूर्व आउने सडक, मत्स्यनारायण, त्रिशुलडाँडा नगरकोट सडकलगायतका सडकलाई पूर्णता दिने बताउनुभयो ।
तीन तहको सरकारबीच आपसी समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने औल्याउदै उहाँले भन्नुभयो, “हामी जनताको सेवक हौ, दुःख सुखको सारथी हाँे, जनताप्रति गरेको प्रतिबद्धता पुरा नगरी हामी थकाई मार्ने छैनौ, बिश्राम लिने छैनौ ।”
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको क्षेत्रको बिकासमा नगरपालिकाले योजनाहरु अगाडि बढाइरहेको बताउदै जनताको माग र सुझाबका आधारमा जनप्रतिनिधि अगाडि बढेको बताउनुभयो ।
उहाँले नगरपालिकाले नगरवासीलाई निःशुल्क रगतको यबस्था गरेको, स्वास्थ्य बिमा र उपचारको व्यबस्था गरेको, बिकासका पूर्वाधारहरुलाई अगाडि बढाएको बताउदै जनतासँग गरेको प्रतिबद्धता पुरा गर्ने गरि काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा वडाध्यक्ष जयन्द्र खड्काले वडा कार्यालय र स्वास्थ्य चौकीको नयाँ भवनबाट आजैबाट सेवा सुरु गरेको र जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्ने बताउनु भयो । उहाँले भूगोलको दृष्टिकोणले सिंगो भक्तपुर नगरपालिका, सिंगो मध्यपुरथिमि नगरपालिका भन्दा यो एउटा दोब्बर ठूलो भएको भन्दै यस वडाको ७० किलोमिटर गाडी जाने सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको हुने गरेकाले यहाँको सपना पुरा गर्ने र लक्ष्य हासिल गर्न तीन तहकै सरकारको साथ र सहयोग मिल्ने अपेक्षा गरेको बताउनु भयो
वडाध्यक्ष खड्काले नेपाली सेनाको सैनि प्रतिष्ठानदेखि छालिङ्ग जाने सडक बिस्तारमा सेनाले आफ्नो सिमानामा पर्खाल लगाईदिए आउँदो दशै अगाडिनै फुटपाथसहितको सडक निर्माण सम्पन्न गरेर गाडी गुर्ने गरि कालोपत्र बनाउन सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, “जनताको घरको पेटी, आँगन, पर्खाल भत्काएर सडक बिस्तार गर्यौँ, सिमांकन गर्यौँ, सेनाको तर्फ बल्लतल्ल सिमांकन गरियो, अब पर्खाल लगाउने कार्यमा फेरी उस्तै समस्या छ, रक्षा मन्त्रीजीले सहजीकरण गरिदिनु पर्यो, सेनाले आफैले पर्खाल नलगाए समस्या आउन सक्छ, सेनाले आफ्नो म्पाउण्डमा पर्खाल लगाए दशै अगाडिनै सडक निर्माण पुरा गर्न सक्छौँ ।”