भक्तपुर, १७ भदौ : चाँगुनारायण नगरपालिकालाई चालू आर्थिक वर्ष २०८०/०८१ मा देशकै उत्कृष्ठ नगरपालिका बनाउने घोषणा गर्दै कार्यसम्पादन मूल्यांकन करार सम्झौता गरेको छ ।
नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को समीक्षा गोष्टी, आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमानित बजेट पुस्तीका एवं विनियोजित ऐन २०८० को सार्वजनीकरण कार्यक्रममा जनप्रतिनिधि एवं कर्मचारीले यस्तो घोषणा गर्दै करार सम्झौता गरेका हुन् ।
कार्यसम्पादन सम्झौता गर्ने पहिलो नगरपालिका बन्दै चाँगुनारायण नगरपालिकाले सुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगर प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।
नगर प्रमुख जीवन खत्री र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीबीच सम्झौतामा हस्ताक्षर गर्दै कार्यसम्पादन मूल्यांकन करार सम्झौता गरेको हो । नगर प्रमुखसँग कार्यसम्पादन सम्झौता गरे लगत्तै प्रमुख प्रशासकीय अधिृकत पन्थीले नगरपालिकाका १३ वटा शाखा प्रमुखसँग र नौ वटा वडा कार्यालयका वडा सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सम्झौतामा एक वर्षमा नगरपालिकालाई देशकै उत्कृष्ठ नगरपालिका बनाउनका लागि गर्नुपर्ने बिभिन्न कार्यहरु र त्यसबाट हासिल गर्नुपर्ने उपलब्धीलाई समेटिएको छ ।
कार्यक्रममा नगर प्रमुख खत्रीले नगरपालिकामा आर्थिक पारदर्शीता र सुशासन कायम गर्दै नगरसभाले पारित गरेको नीति, नियम र विधि सम्बद्ध सञ्चालन गर्न कार्यसम्पादन मूल्यांकन सम्झौता गरिएको बताउनुभयो ।
“गतवर्षको बजेट कार्यान्वयनतर्फ चाँगुनारायण नगरपालिका उपत्यकाकै सबैभन्दा बढी पूँजीगत खर्च गरेर उत्कृष्ठ बन्न सफल भएको छ, हाम्रो यो नगरपालिका पहिलो बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएका छौँ, स्वच्छ बायू गुणस्तर ब्यवस्थापन कार्याविधि २०८० बनाउने नेपालकै पहिलो नगरपालिका बन्न सफल भएका छौँ,” नगर प्रमुख खत्रीले भन्नुभयो, “यस्ता धेरै उदाहरणीय र नमूनाको काम हामीले गरेका छौँ, त्यसैले अब कार्य सम्पादन मूल्यांकनमा हाम्रो नगरपालिका देशकै उत्कृष्ठ बनाएर पुरस्कार प्राप्त गर्ने अभियानमा लाग्न सम्पूर्ण जनप्रतिनिधिदेखि सबै कर्मचारीहरुलाई लाग्न निर्देशन गर्दछौँ ।”
उहाँले यसवर्षको बजेट तथा नीति कार्यक्रम कार्यान्वयनमा लागिसकेको बताउदै उहााले गतवर्ष प्राप्त गरेको उत्कृष्ठताबाट तल नझर्ने चुनौतीलाई अंगाल्दै कुनै पनि कमिकमजोरी नराखी नगरपालिकालाई देशकै उत्कृष्ठ पालिका बनाउने उद्देश्य अनुरुप यो सम्झौता गरिएको उहाँले बताउनु भयो । नगरपालिका प्रगति र सुशासनको बाटोमा अगाडि बढिरहेको चर्चा गर्दै उहाँले अब थप परिणामुखी र नजितामुखी काम गरे जनतालाई देखाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरपालिका शिक्षा, स्वास्थ्य, कृषि, यातायात तथा भौतीक पूर्वाधारलगायतको विकासमा अग्रता कायम गरेको बताउनुभयो । उहाँले कुनै पनि बिकासको काममा उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना प्रकाशित गर्नु पर्ने र काम सम्पन्न भएपछि पनि उपलब्धी सार्वजनिक गर्नु पर्ने बताउदै अन्यथा रकम भुक्तानी नगर्ने बताउनु भयो । जथाभावी स्वीकृत नलिई जग्गा खण्डिकरण गर्ने र घरबाटो सिफारिस लिएर सुटुक्क मालपोतले जग्गा नामसारी गरिदिने परिपाटीलाई अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिलाई कर्मचारीले नटेर्ने गरेको संकेत गर्दै भन्नुभयो, “स्वीकृत नलिई गरिएका जग्गा प्लानिङको सुचिकरणसहितको डाटा माग्दा दुई महिनासम्म पनि कर्मचारीले दिएनन्, कर्मचारी कार्यालयमै मेयर, उपमेयरको फाटो ल्याउने गरिर कुरा काटेरर बस्छन्, वडामा गयो, २ बजेनै कर्मचारी हुदैनन्, यो बेथितिलाई अब अगाडि बढ्न दिन्छौँ, सचेत भएर काम गर्नुस् ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकाले गत आ.ब.मा गरेको प्रगति बिबरण पेश गर्दै नगरपालिकाले उत्कृष्ठ कार्य सम्पन्न गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले किताबमा भएका कुराहरु मेयर उपमेयरले पुरा गर्ने बताउदै उहाँले भन्नुभयो, “पसल पसलमा बसेर मेयरले जागिर दिएन, आफ्नो घर अगाडि पर्खाल लगाईदिएन भनेर भन्दै हिड्नु भन्दा नगरपालिकाले नगरवासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको, निःशुल्क रगत उपलब्ध गराएको, निःशुल्क अक्सिजन दिएको, सरकारले दिएको १५ रुपैयाँमा १० रुपैया थपेर २५ रुपैया विद्यालय खाजा दिएको बारेमा चिया पसलमा भन्दिनुस् कम्तीमा थाहा नपाएका जनताले थाहा पाउनेछन् ।”
नगरपालिकाले प्रत्येक वडामा जेष्ठ नागरिक मिलन चौतारी बनाएको, क्लिनिकको रुपमा सञ्चालित नगर अस्पताललाई अब साच्चिकै सुविधा सम्पन्न नगर अस्पताल बनाउन मेयर लागिरहेको, उपमेयरले पाएको सुविधाको गाडी विपदमा परेका जनतालाई निःशुल्क सवारी सेवा प्रदान गर्न दिएका कुरा पसल पसलमा चर्चा गर्नु पर्ने बताउनुभयो । नगरपालिकाले आफ्ना नगरवासीका लागि अस्पतालसम्म जान आउन बस सेवा सञ्चलनका लागि बस खरिद गर्न लागेको पनि उहाँले बताउनु भयो । उहाहँले पत्रकारलाई हचुवाको भरमा व्यक्तिगत जीवनमाथि आँच आउने गरि गलत समाचार नलेख्न चेतावनीसमेत दिनुभयो ।
नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता जनक खत्रीले नगरपालिकाले धेरै राम्रा र उदाहरणीय कार्य गरिरहेको बताउदै आम नगरबासीमाझ नगरपालिकाले गरेका राम्रा कार्यहरुको प्रचार प्रसार गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति शिवहरि केसी विकासलाई तिब्रता दिदै जनताको माग अनुसार सेवा दिनु पर्ने औल्याउनु भयो । नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोलाले विकासमा विभेद गर्नु नहुने, कोठामा बसेर उपभोक्ता समिति गठन गर्न नहुने र जनप्रतिनिधि आफै उपभोक्ता समितिमा बस्न नहुने औल्याउनु भयो ।
राप्रपाका रमेश अधिकारी, नेमकिपाका सन्तराम दुलाल, रास्वपाका रोशन थापालगायतले नगरपालिकाको अनुगमन प्रभावकारी हुनु पर्ने सुझाब दिदै नगरको किबकास आवश्यकता र जनताको चाहना अनुसार हुनु पर्नेमा जोड दिनुभयो ।