हामीसँग जोडिनुहोस

भक्तपुरमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक

2 मिनेट

भक्तपुर, १७ भदौ : पूर्वराष्ट्रिय गानका रचयिता, राणा शासनको बिरुद्ध क्रान्तिकारी साहित्यकारको रुपमा छवि बनाउनु भएका साहित्यकार, कोषकार, व्याकरणविद, भाषासेवी एवं गद्यनायकका रूपमा परिचित सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा जन्मनु भएका प्रखर साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा प्रकाशित साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक गरिएको छ ।

चक्रपाणि स्मारक प्रतिष्ठानले भक्तपुरको कटुञ्जेमा आयोजना गरेको साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा उहाँले भक्तपुरमा रहेर चक्रपाणि चालिसेले साहित्यको विकासमा उल्लेख्य योगदान गरेको चर्चा गर्दै उहाँकोे नाममा स्थापित पत्रिकाले पनि साहित्यको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर कला संस्कृतिको केन्द्र मात्र नभएर साहित्य राजनीतिको सभ्य केन्द्रसमेत रहेको भन्दै उपकुलपति निभाले आफ्नो पुस्ता पनि भक्तपुरकै भएकाले यहाँ हुने सिर्जना, कला, साहित्य, सांस्कृतिक र राजनीतिक गतिविधि निकै रोचक र प्रिय लाग्ने बताउनुभयो ।

लेखक एवम् समालोचकद्वय डा. विन्दु शर्माले पत्रिकाका सामग्री र समावेश सिर्जना निकै उत्कृष्ट भएको बताउँदै पत्रिकालाई अझै स्तरीय बनाउन समावेशी सिद्धान्तका आधारभूत कुरामा ध्यान दिन सुझाब दिनुभयो ।

पत्रिकाको समालोचना गर्दै महेश पौड्यालले पत्रिकाका न्यूनतम मापदण्ड अपनाउँदै पत्रिकामा समावेश सामग्रीमा विविधतापूर्ण भएको चर्चा गर्दै विशेष खण्डमा पारिएका कवितालगायतका साहित्यिक सामग्री आकर्षक भए पनि लेखहरू उस्तै रहनु र दोहरिनु कमजोर पक्ष भएको औल्याउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राधिका कल्पित, कञ्चन गजमेर, प्रजेश खड्का, रमि प्रिया, पञ्चकुमारी, रचना मोक्तान, सामना पहाड, शान्तिराम भट्टराई, कृष्ण बाउसे, सुमित्रा सुमिलगायत २४ कविले कविता वाचन समेत गर्नु भएको थियो । प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषले उक्त पत्रिकाको सम्पादन गर्नु भएको थियो ।

साहित्यका चालिसेका मच्छिन्द्रनाथको कथा, नीतिरत्न मञ्जुषा, नेपाली संक्षिप्त रामायण, नेपाली संक्षिप्त महाभारत, मेघदूत छायाँ, नेपाली बगलीकोश,.हितैषी नेपाली शब्दकोश लगायत एक दर्जन बढी कृति प्रकाशित छन् । भक्तपुरको कटुन्जेमा बि.स.१९४० मा जन्मिनु भएको चक्रपाणिको निधन बि.स–२०१५ मा भएको थियो । बनारसमा संस्कृत अध्ययन गर्नु भएका उहाँले गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा काम कार्य गर्नु भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।