
-रमेश गिरी
भक्तपुर, २८ भदौ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जंगलको पूर्वपट्टीको छेऊमा सुन्दर बगैचासहितको बाटिका । नजिकै सानो पालेघर । बाटिकाको बीचमा विगत २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेको छ लौह पुरुष, प्रजातन्त्र सेनानी स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक ।
२०५४ सालमा स्थापना भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले बाटिकाको पहिलो चरणको निर्माण पुरा भएर अनावराको तयारी पुरा गरेको समितिका अध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले जानकारी दिनुभयो ।
सरकारले साविकको कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरिदिएको उहाँले जानकारी दिनुभयो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो भवन निर्माण गरेको उहाँले बताउनुभयो । २०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपछि अनावरण हुन नसक्दा वाटिका र शालिक अलपत्र जस्तै बनेको थियो ।

समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना तयार पारेको थियो ।
यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन नसकेको समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहलाई अस्विकार गर्दै उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेपछि नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
वाटिकालाई सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागका बारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर संग्रहालययमा राख्ने लक्ष्य लिएको छ ।
प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे समितिका पूर्वअध्यक्ष श्रीकृष्ण वासुले जानकारी दिनुभयो ।
समितिका संस्थापक अध्यक्ष स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्व अध्यक्ष बासु र वर्तमान् अध्यक्ष बस्नेतले वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका थिए । स्व. गणेशमान सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकाता गएको, त्यहीं राजनीतिक संघसंगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना निर्माण गरिएको थियो ।
त्यस्तै राणाशासनको अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनमा सर्वोच्च कमान्डर भएको, प्रधानमन्त्रीका प्रस्ताव अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायतका घटनालाई समेत उजागर गर्ने भौतिक संरचना बाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइए पनि त्यस्ता धेरै संरचना भने अझै निर्माण हुन सकेका छैनन् ।
गुरुयोजना कार्यान्वयनमा ल्याउन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । यही गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक बाटिकाभित्रै पाउन सकिन्छ गरि गुरुयोजना तयार पारिएको थियो । प्रधानमन्त्रीको पद अस्वीकार गरि त्यागी नेताको थप पहिचान बनाउनु भएका नेपाली प्रजातान्त्रिक जनआन्दोलनका शिखर व्यक्तित्व स्व.सिंहले देशमा आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि स्थायी नहुने धारणा राख्दै आउनु भएको समितिका अध्यक्ष बस्नेत स्मरण गर्नुहुन्छ ।
वाटिकाका लागि तयार पारिएको गुरुयोजना आफैमा ऐतिहासिक भएको बताउदै अध्यक्ष बस्नेतले सबै संरचना निर्माण हुन सके गणेशमान लगायत देशका जनआन्दोलनमा सेनानी एवं सहितहरुको जीवनी समेटिएको अध्ययन अनुसन्धानको केन्द्र सहितको संग्रहालय, पुस्तकालय निर्माणमा सरकारले चासो दिनु पर्ने बताउनु हुन्छ ।
संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद रामेश्वर ढुङ्गेलको निधनसँगै अलपत्र जस्तै बनेको सिंहको शालिक र वाटिकालाई पूर्व अध्यक्ष वासु र वर्तमान् अध्यक्ष बस्नेतसहितको नेतृत्वको समितिले सुन्दर वाटिका निर्माणसँगै शालिक अनावरण गर्ने कार्य सम्पन्न गर्नेतहसम्म पुर्याएको छ ।
साँसदहरुले निर्माण भइसकेको स्व. गणेशमान सिंहको पूर्णकदको सालिकको लागि समेत ४१ लाख रुपैयाँ छुट्याएका थिए भने सालिक निर्माणस्थलको भौतिक निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट २० लाख र सांसद मनमोहन भट्टराईले ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रदेश सभा सदस्य शशीजंग थापाले यहाँको भौतिक संरचना निर्माणका लागि रु.२५ लाख बजेट वागमति प्रदेशबाट र बाटिका प्रवेश गर्ने सिंढी सुधारको लागि नगर विकास प्राधिकरणले थप २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तत्कालिन जिविस, गाविस, नगर विकास समिति, संरक्षण समिति र जनश्रमदानबाट करिब रु. २७ लाख लागतमा कार्यालय भवन निर्माण गरेको थियो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । स्व. सिंहको स्मृति दिवसको अवसरमा शालिक अनावरणका लागि असोज २ गते राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।