-रमेश गिरी
भक्तपुर, ५ पुस । बीर अस्पताल पछि उपत्यकाकै दोश्रो जेठो अस्पताल ‘भक्तपुर अस्पताल’ अब ३०० शय्यामा बिस्तार हुने भएको छ । चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित यो अस्पताल स्थापनाको १२० वर्षमा प्रवेश गरेसंगै ३०० शय्याको केन्द्रीय अस्पतालका रुपमा बिस्तार गर्ने सरकारले निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको मन्त्री परिषद्को गत ३ गते बसेको बैठकले भक्तपुर अस्पताललाई ३०० शय्यामा स्तरन्नोतीको गर्ने निर्णय गरेको प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपि ढकालले जानकारी दिनुभयो ।
उहाँले बागमती प्रदेश सरकारबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत १६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै अस्पतालको स्तरन्नोती गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरि करिब ८ करोड मूल्यको सिटी स्क्यान मेशिन खरिद गर्न भक्तपुर अस्पताललाई बजेट बिनियोजन समेत गराउन सफल भएका ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमै सुविधा सम्पन्न गुणस्तरीय सेवासहितको अस्पतालको स्त्तरोन्नती गर्ने हाम्रो पहल भक्तपुर अस्पताललाई ३०० शय्यामा स्त्तरोउन्नती गरिएपछि हामी भक्तपुरका बासिन्दा र पूर्वका बिरामीलाई गुणस्तरीय उपचारका लागि उपत्यकाका मंहगा निजी अस्पतालमा जानु पर्ने बाध्यताको अन्त्य हुने बिश्वास लिएका छौँ, स्थानीयस्तरमा सुबिधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्ने प्रदेश सरकारको नीति अनुसारनै यस्तो निर्णय भएको हो ।”
उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि केन्द्रीय सरकारबाट उपेक्षित हुदै ७५ शय्यामा सञ्चालन हुदै आएको यो अस्पताल बागमती प्रदेश सरकार मातहतमा गएपछि कोरोना महामारीको समयमा तत्कालिन मेडिकल सुपरिटेन्डेण्ट डा. सुमित्रा गौतमको अथक प्रयासले स्थापनाको १ सय १६ वर्षपछि भेन्टिलेटरसहितको आइसीयु सेवा सहित १८६ शय्यासम्म सञ्चालन गर्नु भएको थियो ।
गुणस्तरीय सेवा नहुँदा र भ्रष्टाचारका अनेकौ बिवादले रिफर सेन्टरको रुपमा पहिचान बनाएको यो अस्पतालले कोरोना महामारीको समय र त्यसपछिको गुणस्तरीय सेवा सञ्चालनले दैनिक १००० बिरामी आउने गरि चाप बढेको थियो । डा. गौतमले अहोरात्र खटिएर अस्पतालको ओपिडी, आइसियू, विशेषज्ञ सेवाहरु, २४ सै घण्टा बिभिन्न शल्यक्रिया सेवा बिस्तार, अक्सिजन प्लान्ट स्थापना गर्दै नियमित सेवा सञ्चालनमा आउन थालेपछि भक्तपुर, पूर्वी जिल्लाका बिरामी, बिभिन्न जिल्लाबाट आउने बिरामीहरुको चाप बढेको थियो ।
डा. गौतमले आफ्नो कार्यकालमा अस्पतालमा दुरबिन प्रविधि बाट शल्यक्रिया, अल्जाइमर्स र मानसिक रोगको निशुल्क सेवा, मुख्यमन्त्री जनता कार्यक्रम मार्फत नसर्ने रोगको निशुल्क स्क्रिनिङ, सुविधासम्पन्न प्रसुती सेवा, एनआइसीयु, एचडियु लगायतका सेवाहरु बिस्तार गर्नुका साथै अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुर्याएको र पुरानो भवनलाई रेक्ट्रोफिटिङ्ग गराएर सञ्चालनमा ल्याउनसफल हुनुभएको थियो ।
डा. गौतमले भन्नुभयो, “अस्तव्यस्त भक्तपुर अस्पताललाई मेरो कार्यकालमा सबै कर्मचारी र चिकित्सकको सहयोगले कोरोनाको महामारीको बीचमा पनि अस्पताललाई गुणस्तरीय सेवा प्रदान गर्ने काम गरियो, भक्तपुर अस्पताललाई शय्या थप गर्न प्रदेश सरकारसंग पटक पटक पहल गरेका थियौँ, अहिले प्रदेश सरकारले ३०० शय्याको स्त्तरोन्नती गर्ने निर्णयले धेरै खुसी बनाएको छ ।
अस्पताल व्यबस्थित रुपमा सञ्चालन गर्न सके बिरामी राम्रो उपचार खोजेर अन्य अस्पतिाल धाउनु पर्दैन ।” गम्भीर प्रकृतीका बिरामीलाई अस्पतालसम्म सुरक्षित ल्याएर उपचार गर्न प्रदेश सरकारले भक्तपुर अस्पताललाई उच्च हेरचाह युक्त बेसिक लाइफ सपोर्ट एम्बुलेन्स समेत प्रदान गरेको छ ।
अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झाले प्रदेश सरकारको निर्णयले आफूहरु उत्साहित बनाएको बताउदै दरबन्दी थपसहितको परिपत्र आएपछि सेवा बिस्तारका प्रक्रिया थालिने गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “म आएको भर्खर तीन महिना भयो, यसअघि डां सुमित्रा गौतमले धेरै राम्रो गर्नु भएको रहेछ, काम गर्न सजिलो छ, अब नयाँ भवन सञ्चालनमा ल्याउने अन्तिम तयारी हुदैछ, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालको भवनमै रहेछ, त्यो अस्पताल अन्यत्र स¥र्यो भने त्यो भवन पनि लिन्छौ, अहिलेको प्रशासनीक भवन धेरै पुरोना छ, त्यो स्थानमा नयाँ भवन निर्माण गर्न सके ३०० शय्या सञ्चालनमा भवनको अभाव हुदैन, हामी सञ्चालन गर्छौ ।” भक्तपुर र पूर्वबाट आउने बिरामीले उपचार नपाएर फर्कनु नपर्ने गरि सेवा र सुबिधा बिस्तार गर्ने उहाँले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले एक वर्ष अगाडिनै भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल र यसवर्ष देशकै उत्कृष्ट अस्पताल घोषणा भएर प्रदेश सरकारबाट पुरस्कृत भएको अबस्थामा ३०० शय्यामा स्त्तरोन्नती भएर थप प्रोत्साहन पाएको बताउनु भयो । प्रदेश सरकारको निर्णयलाई अवसरका रुपमा लिएर अस्पतालको गुणस्तरीय सेवा बिस्तार गर्दै अगाडि जाने उहाँले बताउनुभयो । भक्तपुर अस्पतालमा उपचारका लागि अन्य अस्पतालबाट रिफर गरेर आउने गरि सेवा बिस्तार गर्ने उहाँले बताउनुभयो ।