भक्तपुर, ४ पुस । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीहरुले २०८० सालमा सञ्चालन हुने एसईई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने बताउनु भएको छ ।
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले २०८० मा एसईई परीक्षा हुदैन की भन्ने भ्रममा नपर्न समेत विद्यार्थीलाई आग्रह गर्नुभयो ।
बोर्डका अध्यक्ष डा. शर्माले भन्नुभयो, “एुसईईमा अब एनजी प्रणाली लागू हुदैछ, २०८० बाटै यो नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने हुन्छ ।”
कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा.ताराप्रसाद गिरीले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुने बताउनुभयो । उहाँले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुन्छ त्यसकारण विद्यार्थीहरुले आजको समयलाई सहि सदुपयोग गर्नु पर्ने सन्देश प्रवाह गर्नु भयो ।
मार्गनिर्देशनमा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले कोभिड –१९ पछि विद्यार्थीहरुको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालिन अक्षराङ्कं प्रणालीको कारण नपढे नि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरु भ्रममा रहेकाले पनि विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेसनल प्याव्सनका केन्द्रीय सदस्य जिबि खड्का लगायतले कोभिडका कारण बिग्रिदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक, बिवद्यार्थी सबैले सुधारेर लैजानु पर्नेमा जोड दिनुभयो ।