
भक्तपुर, १४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित मन्त्रीहरुले राम्रो काम गर्न नसकेको बताउनु भएको छ ।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र न.२ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै उहाँले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको बताउनु भयो । कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएकोले कांग्रेसले नचाहेको दिन दाहाल प्रधानमन्त्री रहिरहन नसक्ने र बालवाटारबाट खुमलटार पुर्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, “हामी जताततै सरकारमा छौं, वडामा अध्यक्ष, गाउँपालिकामा अध्यक्ष, नगरपालिकामा प्रमुख, प्रदेशमा मुख्यमन्त्रीं, मन्त्री छौं, संघीय सरकारमा मन्त्री छौँ, सांसद पनि छौं । जताततै सरकारमा काँग्रेस बहुमतमा छौँ, तर जताततै समस्या छ, समस्या हटाएर शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नु पर्दैन, जनता आफैले काँग्रेसलाई बहुमत दिन्छन् ।”
देशभर काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु, गाउँ पालिकाका अध्यक्षहरु, नगरपालिकाका प्रमुखहरु, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरु, संघीय मन्त्रीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नु पर्दैन, जनता आफैले काँग्रेसलाई बहुमत दिन्छन् ।”

महामन्त्री थापाले माथिल्लो तहमा पार्टी सभापति गोजीबाट, गुृटउपगुटबाट चुनिएर आएका प्रतिनिधिले नभई पार्टीमा ८ लाख ७० हजार क्रियाशिल सदस्यले मतदान गरेर चुन्नु पर्ने बताउदै वडा, नगर, पालिका प्रमुखका उम्मेदवारको टिकट सोहीइ ठाउँका क्रियासिल सदस्यले मतदान गरेर चुनेर पठाउनु पर्ने बताउनुभयो ।
आगामी निर्वाचनमा काँग्रेसले कुनै हालतमा गठबन्धन नगर्ने बताउदै उहाँले आफू देश दौडाहामा जादा अर्को पार्टीको चुनाब चिन्हमा मतदान गर्दाको कार्यकर्ताको पीडाले मन दुखेको बताउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “काँग्रेस आफै एक्लै चुनाब लड्न सक्षम छ, चुनाब जित्ने नाममा कुनै पार्टीसंग अब गठबन्धन गर्दैन, काँग्रेसले राम्रो काम गरेर देखाउन सके जनताले पत्याउँछन, नसके हार्छ, काँग्रेस हार्न तयार छ, तर गठबन्धन गर्न तयार छैन, यो निर्णय अब महासमिति बैठकले गर्छ ।” उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएको भन्दै जनअपेक्षा अनुरुप सरकारले र काँग्रेसबाट मन्त्री हुनेहरुले पनि काम गर्न नसकेको बताउनु भयो ।
देशमा कांग्रेस नभए जातीय, धर्म वा अन्य कुनै अतिवादको चपेटामा परेर देश गृहयुद्धमा फस्ने दाबी गर्दै उहाँले बालकुमारीमा दुई जनाको ज्यान जाने गरि हिजो भएको घट्ना जनआक्रोसको एउटा नमूना भएको बताउनुभयो ।

देश दौडाहामा जादा अहिले जहाततै नेपाली काँग्रेस सकियो, सबै भत्कियो भनेर काँग्रेसकै कार्यकर्ताले निरुत्साहित भइरहेको भन्दै उहाँले काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न नसक्दा र सरकारमा रहेकाले राम्रा काम गर्न नसक्दा निराशा छाएको बताउनुभयो । महामन्त्री थापाले पार्टीको बैठकमा जतिनै छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्यदेखि सांसदसम्मको टिकट बाड्ने परिपाटीको अन्त्य हुनु पर्ने बताउनुभयो ।
उहाँले पार्टी गुटैगुटको गुजुल्टो बनेको भन्दै गुट बनाउन राम्रो होइन भन्ने नेताहरुले पनि गुट बनाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिको गुट , उपसभापतिको गुट, महामन्त्रीहरूको गुट, अरू–अरूको आफ्नै गुट छ । माथिल्लो तहमा मात्रै होइन वडा तहसम्मै गुटैगुट छ, अहिले पार्टी त गुटैगुटको गुजुल्टो बनेको छ, यस्ता गुटको अन्त्य गर्नुपर्छ ।”

कार्यक्रममा काँग्रेस नेता चन्द्र भण्डारीले काँग्रेस र सरकारको अहिलेसम्मको बिकृति अबको पुस्ताले बोक्न नपर्ने गरि काँग्रेस अगाडि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुरका पुराना काँग्रेस नेताहरु तिलकप्रकाश कायस्थ, बिमली आचार्य, लेखनाथ न्यौपानेलाई जिउँदा शहिदको उपनाम दिदै दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि महामन्त्री थापाले सम्मान गर्नुभयो ।
काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठलगायतका नेताहरुले काँग्रेसलाई अगाडि बढाउन सुदृढिकरण अभियान लिएर जानु पर्ने बताउनुभयो ।