भक्तपुर, १४ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शसशेर राणाले देशका नेताहरुले निस्वार्थ भावनाले राजनीति र देशको सेवा गर्नुपर्ने बताउनु भएको छ ।
आज भक्तपुरमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका संस्थापक अध्यक्ष एवं पूर्व जिविस सभापतिस्व. सुरेन्द्र प्रताप शाह नवौँ स्मृति सभामा बोल्दै उहाँले स्वार्थरहित राजनीति हुन नसके देशको बिकास पछाडि पर्ने बताउनु भएको हो ।
स्वर्गीय शाहको निःस्वार्थ राजनीतिकै कारण भक्तपुरको बिकास तत्कालिन अबस्थामा पनि सम्भव भएको भन्दै उहाँले राप्रपा सोही बाटोमा हिड्नु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा पूर्व गृहमन्त्री एवं राप्रपाका वरिष्ट उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्वराज्यमन्त्री दीपक सिंह, पूर्व सूचना तथा सञ्चार मन्त्री टंक ढकाल, राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीलगायतले बालकुमारीमा हिजो भएको घट्ना दुखद भएको भन्दै दोषीलाई सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं स्वर्गीय शाहका पुत्र रबिन्द्रप्रताप शाहले देशको जनयुद्धका संकटकालदेखि जीवन रहेसम्म स्वं शाहले भक्तपुरको बिकासमा अहोरात्र खटिदै लाग्नु भएको चर्चा गर्नुभयो । भक्तपुरको बिकासको संंवाहक बन्नु भएका उहाँको योगदान र त्यागका कारण अहिलेसम्म भक्तपुरवासीले पार्टीभन्दा माथि उठेर उहाँको स्मरण गर्नुभएको भन्दै पार्टीले उहाँको योगदानलाई सधै आत्मासात गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणको बिकासमा स्व. शाहको योगदान जीवन्त रहेको चर्चा गर्नुभयो ।