भक्तपुर, २५ पुस : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको बिकासको बारेमा चासो दिनु भएको छ ।
आज साँझ नेपाली काँग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद दूर्लभ थापाको स्वास्थ्य अबस्थाकोबारेमा जानकारी लिन भक्तपुरको सल्लाघारीस्थित थापा निवास पुग्नु भएका सभापति देउवाले भक्तपुरको बिकास र गतिबिधिकाबारेमा चासो लिनु भएको हो ।
उहाँले भक्तपुर नेपाली काँग्रेसबाट नेतृत्व गरिरहेको स्थानीय तहको बिकास र संघ तथा प्रदेशबाट भक्तपुरमा भएको बिकास, जनचासोको ध्यान दिन भक्तपुरका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
जिल्ला सभापति एवं सांसद थापाको भारतमा भएको उपचार, अहिले भइरहेको थेरापी र स्वास्थ्य अबस्थाकाबारेमा चासो लिएर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले भक्तपुरको बिकासको गतिबिधिकाबारेमा जानकारी लिनु भएको थियो ।
थापा निवास पुग्नु भएका वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेश सभाका पूर्वमन्त्री कृष्णलाल भडेँल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पार्टी सचिव शुसिल बस्नेतलगायतका नेता तथा कार्यकर्ताहरुसंग छोटो छलफल गर्दै सभापति देउवाले काँग्रेस भक्तपुरको पार्टी सुदृढिकरणलाई मजबुद बनाएर लैजान र बिकासमा जोड दिन आग्रह गर्नु भएको थियो ।
सभापति देउवासंग नेता तथा कार्यकर्ताले संघीय तथा प्रदेश सरकारमा भक्तपुरका सांसदलाई पनि सहभागिता गराउनु पर्ने भन्दै भक्तपुरलाई मन्त्री दिन माग गरेका थिए ।