चैत २०, एजेन्सी ।
इजरायलले गरेको हवाइ हमलाबाट इरानी रिभोलुसनरी गार्डका दुई उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ । सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा परी उनीहरुको मृत्यु भएको सिरियाले जनाएको छ ।
हमलाबाट भवन ध्वस्त भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शहरको पश्चिममा रहेको बहु(तल्ले संरचनाबाट धुवाँ र धुलो उडेको देखिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सले वाणिज्य दूतावासको भवनमा भएको आक्रमणमा आफ्ना सात सदस्यको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा वरिष्ठ कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका सहायक रहेको इरानी आईआरजीसीले एक विज्ञप्तिमा जनाएको छ ।
इजरायलले विगत केही वर्षहरूमा सिरियामा इरानसम्बन्धित लक्ष्यहरूमा सयौं आक्रमण गरेको छ ।