भक्तपुर,२२ चैत।
आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७०÷८१’ आजबाट सुरु हुदैछ ।
नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा महोत्सवको आयोजना भएको हो । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गरेको महोत्सव आज चैत्र २२ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गरिएको अध्यक्ष महतले बताउनुभयो ।
महोत्सवमा १५० भन्दा बढी स्टल रहको छन् । मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामान लगायतका स्टलहरु रहेको छ ।
संस्थाको आयोजना एवं मध्यपुर ब्वाइज व्याण्डकोे समन्वयमा भक्तपुरका सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा १२ दिने महोत्सवको सुरु भएको हो ।
महोत्सवमा सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक र हास्य व्यङ््य सहितका मनोरञ्जनात्मक प्रस्तुति समेत रहने छ ।
हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछ । आज महोत्सवको पहिलो दिन कमल खत्री, शोभा त्रिपाठी,
रुविसा श्रेष्ठ, प्रवेश मोक्तान लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायत आसपासका जिल्लाका बासिन्दाले महोत्सवबाट लाभ लिन सक्नेछन् ।