बैशाख २,काठमाण्डौ ।
वसन्तयामका लागि नेपालका हिमालमा आरोहण शुरु भएको छ । मकालु र अन्नपूर्ण–१ मा शिखरसम्म डोरी बाटो बनाउने काम पूरा भएर आरोहण शुरु भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । बाटो बनाउनेहरू डोरी र भर्याङ राख्दै शिखरसम्म पुगिसकेपछि मौसमको अनुकूलअनुसार आरोहीहरू शिखरतर्फ जान्छन् ।
यस वर्ष वसन्तयाममा नेपालका हिमाल आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा पाँच सय ४३ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ३७ करोड ७३ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यस वर्ष सगरमाथामा भने आरोहीको सङ्ख्या घटेको छ । अहिलेसम्म सगरमाथा आरोहणका लागि दुई सय ३४ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।
गएको वर्ष सन् २०२३ मा चार सय ७८ जना आरोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए ।