बैशाख १०, काठमाण्डौ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी जहाज इजरायलमा मर्मतपछि आज काठमाण्डौ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।
मन्त्री तामाङले लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज चाँडो ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो । जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा झण्डै पाँच महिनाको मर्मतपछि जहाज आज राति काठमाडौँ फर्किन लागेको हो ।
नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।