काठमाडौं,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री दाहालले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए।
भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति थियो।