काठमाडौं,२९ जेठ।
राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ९ग्लोबल कोलिसन फर सोशल जस्टिस०को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक हो। भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ।