काठमाडौं,२४ असार ।
कांग्रेससँग मिलेर नयाँ सत्तागठबन्धन बनाएको एमालेका मन्त्रीहरूले बागमती प्रदेश सरकारबाट सोमबार राजीनामा दिने भएका छन्।
माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज बिहान मन्त्रीहरुले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका हुन्।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा आएलगत्तै राजीनामा दिने बताएका एमाले मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेलसँगको छलफलपछि आज मात्रै राजीनामा दिने भएका हुन्।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता थपलिया मुख्यमन्त्री काठमाडौंबाट आउनेबित्तिकै भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए।
प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन्।