
काठमाडौं, असार २७।
प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो।
बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताएका थिए। तर बिहीबारको प्रतिनिधि सभा बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकोले कार्यसूचीमा रहेका सबै कार्यक्रम सूचीबाट हटाइएको थियो।
प्रधानमन्त्री दाहालले एमाले र जनता समाजवादी पार्टीले छाडेका १० मन्त्रालय पनि सम्हाल्दै आएका छन्।त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।