१६ साउन, काठमाडौं ।
रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्याएको छ ।
आज बिहान सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको छ।
पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ । अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो । बाढीले फर्निचर उद्योगका प्लाई र मेसिन गरी १० लाख बराबरको क्षति पुगेको प्रजापतिले प्रहरीलाई विवरण टिपाएका छन् ।