साउन १७, काठमाण्डौ ।
गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल आएका छन् । ६४ हजार ५ सय ९९ जना पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २१ हजार ४ सय ९१ जना पर्यटक आएका छन् ।
यस्तै अमेरिकाबाट ७ हजार ८ सय ६४ जना, चीनबाट ६ हजार ८ सय १९ जना, बेलायतबाट ३ हजार ८ सय ६ जना, बङ्गलादेशबाट ३ हजार ८ सय ७० जना, अस्ट्रेलियाबाट १ हजार ९ सय जना, दक्षिण कोरियाबाट १ हजार ५ सय ३७ जना, भुटानबाट १ हजार २ सय ७ जना, मलेसियाबाट १ हजार १ सय २५ जना र जापानबाट १ हजार १ सय १४ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
गएको वर्षको जुलाईमा ५७ हजार ७ सय २६ जना पर्यटक नेपालमा आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघि सन् २०१९ को जुलाईमा झन्डै ७१ हजार जना पर्यटक भित्रिएका थिए ।
नेपालको सरकारी र निजी क्षेत्रले अहिले मनसुनको सिजनलाई पनि लक्षित गरेर पर्यटक भित्र्याउने विभिन्न कार्यक्रम गरिरहेकाले त्यसको सकारात्मक प्रभाव यो वर्षको जुलाईमा देखिएको व्यवसायीले बताएका छन् ।