२३ साउन,काठमाडौँ ।
नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी छन्।
सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ।
’एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।