काठमाडौँ,१० असोज।
निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले स्वीकृत गरेको तालिकाअनुसार मंसिर २ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ।
सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।
त्यसको भोलिपल्ट मंसिर ३ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। त्यसपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ।
यसैगरी मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता सापकोटाले बताए।
निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
मतदान शुरु हुनुभन्दा ४८ घण्टाअगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ।