काठमाडौं,१६ कार्तिक।
यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ। काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन्।
भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताए।मूल्य बढेकाले यसपटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ।
यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन्। उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन्।
बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ। त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ।