१६ कात्तिक, काठमाडौं ।
सरकारको आन्तरिक लेखा परीक्षणबाट अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा साढे २१ अर्ब रुपैयाँ बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस आवमा २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ बराबरको बेरुजु कायम भएको हो । गत आवमा सरकारले कुल १३ खर्ब ९३ अर्ब रुपैयाँ बजेट खर्च गरेको पनि कार्यालयको तथ्यांक छ ।
बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु ९ अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु १ अर्ब ९२ करोड ९६ लाख र पेस्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।हरेक वर्ष बेरुजु रकम बढ्दो क्रममा जाँदा आर्थिक अनुशासनमा प्रश्न उठ्ने गरेको छ । कार्यालयले गत बुधबार केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण महालेखा परीक्षकको कार्यालयमा बुझाएको छ । सो विवरणमा उल्लेख आन्तरिक लेखापरीक्षणबाट सो रकम बराबरको बेरुजु देखिएको छ ।
गत आवको अन्त्यमा नेपाल सरकारको बजेटरी निकायको कुल १८ अर्ब १२ करोड रुपैयाँ पेस्की बाँकी रहेको देखिएको छ, जसमा म्याद ननाघेको पेस्की ७ अर्ब ६६ करोड ६३ लाख र म्याद नाघेको पेस्की १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको समेत महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।
संघीय सञ्चित कोष सवा २ खर्बले घाटामा
गत आवको अन्त्यमा संघीय सञ्चित कोष भने घाटामा रहेको देखिएको छ । विवरणअनुसार आव २०८०र८१ को सुरुमा संघीय सञ्चित कोष १ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ घाटामा थियो । त्यस आवमा सरकारको कुल प्राप्ति १३ खर्ब ३५ अर्ब २२ करोड र कुल भुक्तानी १३ खर्ब ९३ अर्ब ३९ करोड रहेको थियो ।
विनिमय दर वा अन्य समायोजनबाट १४ अर्ब ४४ करोड दायित्व थप भएको थियो । त्यस वर्षको सुरुको मौज्दातसमेतको समायोजनबाट आवको अन्त्यमा संघीय सञ्चित कोष २ खर्ब २४ अर्ब ९९ करोड रुपैयाँले ऋणात्मक रहेको विवरणमा उल्लेख छ । त्यस आवमा राजस्व, अनुदान, अन्य प्राप्ति, लगानी तथा वित्तीय प्राप्तिबाट १३ खर्ब ३५ अर्ब २२ करोड प्राप्ति भएको छ ।