काठमाडौं,२४ कार्तिक।
नेकपा एमालेले काठमाडौँमा जागरण सभा गर्ने भएको छ ।
शनिवार बसेको एमाले सचिवालय बैठकले आउँदो मङ्सिर ७ गते काठमाडौँमा पार्टीको जागरण सभा गर्न लागेकोले सो कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौँमा गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठनहरू, सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
नेकपा एमालेको सचिवालय बैठकले आगामी मङ्सिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
शनिबार बसेको बैठकले सो उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।