काठमाडौँ,८ मंसिर ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को एघारौं पूर्ण सत्रमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।
मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति पौने १० बजे थाइ एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल रहेका छन् ।
कम्बोडियामामा नै रहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।
११ औं बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद र नागरिक समाजबीचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।